२७ हजार बालबालिकालाई दादुरा–रुबेला खोप



बैतडी, (नेस)

बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको छ।
दादुरा–रुबेला खोप अभियानअन्तर्गत आगामी चैत १ गतेदेखि चैत १४ गतेसम्म ९ महिनाभन्दा माथिका र ५ वर्षमुनिका बालबालिकालाई सो खोप लगाइने भएको हो।
दादुरा तथा रुबेला रोग लाग्न नदिनका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो। ‘जिल्लाका ८४ प्रतिशत बालबालिकाहरूको मात्रै खोपमा पहुँच देखिएकाले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको हो’, उहाँले भन्नुभयो– ‘बच्चालाई १५ महिना हुँदा दादुरा–रुबेला खोप दोस्रोपटक लगाउनुपर्ने भए पनि त्यो खोप लगाउने बालबालिकाको संख्या कम रहेको छ।’
बैतडी पूर्णखोपयुक्त जिल्ला भएकाले बालबालिकाहरूले पाउनुपर्ने खोप पूर्णरूपमा पाउनुपर्ने हुन्छ। बैतडीलाई २०७२ साल असार ६ गतेका दिन पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको थियो। दादुरा–रुबेला खोप अभियानका लागि २ सय बढी स्वास्थ्यकर्मी र १ हजार २ सय ६० स्वयंसेवक परिचालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो।
चैत १ देखि ७ गतेसम्म पहिलो चरण र ८ देखि १४ गतेसम्म दोस्रो चरण गरेर दुई चरणमा खोप अभियान सञ्चालन हुने जनाइएको छ। पहिलो चरणमा जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्