धेरै कर तिर्नेहरुलाई सम्मानित


काठमाडौं ।

सरकारले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने १९ विधाका करदाता तथा संस्थालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले क्षेत्रगत रूपमा उत्कृष्ट कर योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । यस वर्ष व्यक्तिगत आयदेखि औद्योगिक, बैंकिङ, पर्यटन, सूचना प्रविधि, ऊर्जा, बीमा तथा रेमिट्यान्स क्षेत्रसम्मका करदातालाई विभिन्न १९ विधामा छनोट गरिएको छ ।

विभागका अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सूर्य नेपाल प्रालि परेको छ । एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल, वस्तु निर्याततर्फ डाबर नेपाल र सूचना प्रविधिसम्बन्धी सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल उत्कृष्ट करदाता बनेका छन् ।

त्यस्तै, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएका छन् । पर्यटन व्यवसायमा सोल्टी होटल र वस्तु व्यापारतर्फ सीजी इम्पेक्स उत्कृष्ट करदाता घोषित भएका छन् ।

वार्षिक ५० करोडदेखि १०० करोड रुपियाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर उत्कृष्ट बनेको छ । ऊर्जा उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड र व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह सम्मानित भएका छन् ।

यसैगरी, आर्थिक वर्ष २०७७÷७८ देखि २०८२÷८३ को असार मसान्तसम्म मूल्य अभिवृद्धि कर (मूअकर) विवरण तथा सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाउनेमध्ये हिमालयन डिस्टिलरीलाई सम्मान गरिएको छ ।

वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी उत्कृष्ट करदाता बनेको छ । विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएका छन् ।

त्यसैगरी, प्रतिकूल परिस्थितिका बाबजुद उदाहरणीय व्यावसायिकता र उद्यमशीलता प्रस्तुत गर्दै मुलुकको राजस्वमा निरन्तर उच्च योगदान पु¥याएको भन्दै भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई विशेष सम्मान प्रदान गरिएको छ ।

सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ को सम्झनामा २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । कर दिवसका अवसरमा करदातालाई कर प्रणालीप्रति प्रोत्साहित गर्ने, कर सहभागिता बढाउने र राजस्वमा योगदान पु¥याउने व्यक्ति तथा संस्थाको सम्मान गर्ने गरिएको छ । यसअघि १६ विधामा उत्कृष्ट करदाता सम्मानित हुँदै आएकोमा यस वर्ष विधा थप गरी १९ पु¥याइएको हो ।

बढी कर तिरेर सम्मानित हुनेहरुमा

१. सबैभन्दा बढी कर तिर्ने : सूर्य नेपाल प्रालि

२. एकलौटी फर्महरूमध्ये : थर्ड आई इन्टरनेसनल

३. वस्तु निर्याततर्फ : डाबर नेपाल प्रालि

४. सूचना प्रविधि सेवा निर्याततर्फ : इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल

५. कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ : ओसीबी फुड्स एन्ड फिड्स प्रालि

६. बैंकिङ क्षेत्रतर्फ : नबिल बैंक लिमिटेड

७. स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड

८. पर्यटन व्यवसायतर्फ : सोल्टी होटल लिमिटेड

९. वस्तु व्यापारतर्फ : सीजी इम्पेक्स प्रालि

१०. वार्षिक ५० करोडदेखि १०० करोडसम्म कारोबार गर्ने मध्ये : फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि

११. ऊर्जामूलक उद्योगतर्फ : भोटेकोशी पावर कम्पनी प्रालि

१२. रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ : आईएमई लिमिटेड

१३. व्यक्तिगत आयकरतर्फ : राजबहादुर शाह

१४. २०७७ साउनदेखि २०८३ असारसम्म नियमित रूपमा मूअकर विवरण र कर दाखिला गर्नेमध्ये : हिमालयन डिस्टिलरी लिमिटेड

१५. वार्षिक ५० करोडसम्म कारोबार गर्ने मध्ये : इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड

१६. विशेष उद्योगतर्फ : वरुण बेभरेज नेपाल प्रालि

१७. जीवन बीमातर्फ : लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड

१८. निर्जीवन बीमा क्षेत्रतर्फ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड

१९. लघुवित्त क्षेत्रतर्फ : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

-प्रतिकुल परिस्थितमा उदाहरणीय व्यवसायिकता प्रस्तुत गर्नेः भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टेमेन्टल स्टोर प्रालिलाई सम्मान