“सडक बनाउन आन्दोलन नै गर्नुपर्ने हो ?”



विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रको नजिकैको सडक। पानी पर्दा हिलाम्मे। घाम लाग्दा बुङबुङ्ती धूलो उड्ने मात्रै होइन, खाल्डाखुल्डी पनि उत्तिकै छन्।
ललितपुरको मंगलबजारदेखि ग्वार्को जाने सडकको यही अवस्थाले यहाँका स्थानीय निकै आक्रोशित भएका छन्। सो क्षेत्रको बाटो मेलम्चीको पाइपलाइन बिछ्याउँदा खनिएको थियो। खाल्डाखुल्डी अहिलेसम्म राम्ररी पुरिएको छैन।
समस्याको सुनवाइ गर्न पटक–पटक सम्बद्ध निकायमा धाउँदा पनि बेवास्ता गरेपछि स्थानीयको आक्रोशको सीमा नै रहेन। त्यसपछि स्थानीयले ‘सडक बनाउन आन्दोलन नै आवश्यक हो ?’ भनेर लेखिएको बोर्ड बीचै बाटोमै तेस्र्याएका थिए। असन्तुष्ट स्थानीयले बोर्ड राख्ने क्रममा ‘धूलो प्रदूषण कहिलेसम्म ?’ ‘सावधान सडक जीर्ण भएकाले सवारी विस्तारै हाक्नुहोला।’ जस्ता ठूल्ठूला अक्षरमा लेखिएको बोर्ड पनि राखिएको छ। पछिल्लोपटक हःखा टोल सुधार संघले पनि यसरी विरोध जनाएको छ।
अहिले ललितपुरका महानगरपालिका वडा नं ६ र ८ सुन्धारा, गुजिबहाल, चालाछेँ वडा नं १२ का मंगलबजार, हखा क्षेत्रको सडकमा राखिएका ती बोर्डले बाटो बनाउन पहल नगरेकोमा वडा कार्यालय, महानगरपालिका र सडक डिभिजन कार्यालयप्रति स्थानीयको आक्रोश झल्किएको छ। सम्बद्ध निकायले कुनै सुनुवाइ नभएपछि विभिन्न बोर्डहरू राख्दै दबाबमूलक कार्यक्रममा उत्रिनुपरेका हःखा टोल सुधार संघका अध्यक्ष कमलमान शाक्यले बताउनुभयो।
स्थानीय बासिन्दाका अनुसार सडकको समस्याबारे गत जेठमा नै छलफल भएको थियो। मेलम्चीको पाइपलाइन राख्ने काम सकिनेबित्तिकै सडक बनाउने भनेर हस्ताक्षर भएको उनीहरूको भनाइ छ। ६ महिनाभन्दा बढी बितिसक्दा पनि केही काम नभएपछि स्थानीयले सडकको बीचमै बोर्ड राखेर विरोध जनाउनुपरेको स्थानीयबासी विश्व शाक्यले बताउनुभयो।

सडक मर्मत हुन नसकेकाले घाम लागेका बेला धुलाम्मे र पानी परेका बेला बाटो हिलाम्मे हुने भएकाले निकै समस्या भएको स्थानीय बताउँछन्। सडकमा उड्ने धूलोका कारण आफ्नो व्यापार व्यवसाय नै चौपट हुने अवस्था आइसकेको स्थानीयबासी तथा व्यापारी सोनी श्रेष्ठले बताउनुभयो।
‘घाम लागेका दिन उठेको धूलोले पसलका सामान नै धुलाम्मे हुन्छ, मान्छे नै नचिनेने हुन्छन्, पानी परेको दिन सडक हिलाम्मे हुन्छ, खाल्डाखुल्डी र जमेको पानीका कारण दैनिक ४/५ वटा मोटरसाइकल दुर्घटना भइरहेका हुन्छन्।’ –उहाँले भन्नुभयो। धूलोका कारण पर्यटक नाकमुख छोपेर हिँड्न बाध्य भएका छन्। स्थानीयका अनुसार रातिको समयमा हिँड्ने अधिकांश मान्छे खानेपानीले राखेको पाइपमा अल्झेर लड्ने गरेका छन्।
खराब बाटोकै कारण व्यापार गरी बसेका व्यापारीले त्यो ठाँउ छोडी अर्कै ठाउँमा जान थालेको स्थानीय अनिता शाक्यले बताउनुभयो। ‘बाटो बन्द गर्दा सर्वसाधारणलाई दुःख पुग्ने भएकाले आफूहरूले अहिले दबाबमूलक कार्यक्रम मात्रै गरेको हो, सरकारले सुनेन भने बाटो बन्द गर्न पनि बाध्य हुन्छौं।’ –स्थानीयबासी लोकमान शाक्यले भन्नुभयो।
मेलम्ची खानेपानी आयोजनाले पहिलोपटक जेठमा पाइपलाइनका लागि बाटो खनेकोे थियो। पहिले खनेको पाइपलाइनमा समस्या आएपछि फेरि दशैंताका बाटो खनिएको स्थानीय बताउँछन्। सडक मर्मतका लागि पटक–पटक आग्रह गर्दै आफूहरू ५/६ पटक सडक डिभिजन कार्यालय ललितपुर धाएको स्थानीय बासिन्दा प्रेम रञ्जितले बताउनुभयो।
‘टोलका सबै पसल बन्द गरेर सडक डिभिजन कार्यालयमा दबाब दिन गए पनि सुनवाइ भएन। हामी दबाब दिन जाँदा कार्यालयका कर्मचारीले– अब तपाईंहरूकै काम गर्ने हो भन्छन्। तर, काम कहिले हुने हो टुंगो लागेको छैन।’ –उहाँले भन्नुभयो।
मेलम्ची खानेपानीले काम सकेको पत्र पठाएपछि काम शुरू गर्ने सडक डिभिजनले बताए पनि खानेपानीको पत्र पाइसक्दा पनि काम शुरू नभएको अर्का स्थानीय विनोद शाक्यले बताउनुभयो। खानेपानी आयोजनाले आफ्नो काम सकिएको पत्र पुस ३ गते कार्यालयलाई पठाएको थियो। कार्यालयबाट सडक मर्मतको काम शुरू गर्नका लागि सम्बन्धित निकायलाई ४ गते नै पत्र पठाइसकेको सडक डिभिजन कार्यालय ललितपुरको सूचना अधिकारी सुमित्रा अधिकारीले बताउनुभयो।
विभिन्न टुक्रामा विभाजित गरिएको सो सडकको मर्मतका लागि सैलुङ कन्सट्रक्सनले ८ करोड ३४ लाख ७९ हजारमा ठेक्का पाएको थियो। २०७३ भदौ ९ गते खोलिएको टेन्डरमा २ वर्षमा काम पूरा गर्ने सम्झौतामा कन्ट्रक्सनले असोज १० गते ठेक्का पाएको थियो।
सम्झौताअनुसार बाटोको मर्मतको काम २०७५ असोज १० मा नै सम्पन्न हुनुपर्ने हो। खानेपानीको काम चालू रहेकाले काम समयमा शुरू हुन नसकेको सूचना अधिकारी अधिकारीको दाबी छ। गत साता बाटो मर्मतको काम छिटो अघि बढाउन सैलुङ कन्ट्रक्सनसँग सडक डिभिजनको छलफल भएको पनि उहाँले जानकारी दिनुभयो।
सडक मर्मतको म्याद सकिए पनि सार्वजनिक खरिद ऐनको ९औं संशोधनअनुसार बिनाहर्जना १ वर्षसम्म म्याद थप गर्न सकिने भएकाले म्याद थपको फाइल उठाइसके पनि म्याद थपको निर्णय भने भइसकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्