दुराको स्मृतिमा संग्रहालय



लमजुङ, (नेस)।
नेपाली लोकगीत क्षेत्रको निकै पुरानो र मौलिक ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको स्मृतिमा उनको जन्मगाउँमा संग्रहालय निर्माण गरिएको छ। मध्यनेपाल नगरपालिका–१० हाँडीखोलाको नास्के–वद्र्धन गाउँका दुराको स्मृतिमा गाउँमा संग्रहालय बनाइएको हो।
मध्यनेपाल नगरपालिकाको १८ लाख रुपियाँ र श्रमदान १० लाख गरी २८ लाख रुपियाँमा संग्रहालय निर्माण गरिएको हो। संग्रहालय परम्परागत घुमाउने स्वरूपमा खरको छानो छाइएको छ। संग्रहालयमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसंग सम्बन्धित सामग्री संग्रह गरिनेछ। संग्रहालय निर्माणका लागि स्थानीय चन्द्रमान, भीमबहादुर, हस्तबहादुर र दलबहादुर दुराले जग्गादान गरेका हुन्। करिब ४८ वर्षको उमेरमा १९९५ सालको फागुनमा देउबहादुरको निधन भएको स्थानीय बताउँछन्।
उक्त संग्राहलयको शुभारम्भ गर्दै मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले स्व. देउबहादुर दुराले ठाडोभाका जस्तो नितान्त मौलिक गीतका माध्यमले कुनै जाति, ठाउँ र गाउँ विशेषलाई नभई सिंगो लमजुङलाई चिनाएको चर्चा गरे। सबै भाषा, भाषी, जात, धर्म र जिल्लावासीले उत्तिकै सम्मान र श्रद्धापूर्वक दुराको स्मरण गर्नुपर्ने नगरप्रमुख पाण्डेको भनाइ छ।
सोही अवसरमा स्थानीय युवाक्लबमा आवद्ध युवायुवती र विद्यार्थीले नृत्यसँगै घाँटु, कृष्णचरित्र र नृत्यसँगसँगै आमा समूह, यामबहादुर दुरा, कविमाया दुरा र बुद्धिमान दुरा धम्पुलगायतका समूहले ठाडोभाका गीत गाउँदै मनोरञ्जन गराएका थिए। नेपाली गीत–संगीत क्षेत्रलाई ठूलो गुन लगाएको जनाउँदै भावीपुस्तालाई उनको बारेमा चिनाउने आधारहरू निर्माण गर्नुपर्ने ठाडोभाका संरक्षण समितिका संरक्षक बुद्धिमान दुरा (धम्पु) ले बताए।

प्रतिक्रिया दिनुहोस्