एल क्लासिकोमा रियल विजयी

0
Shares

लन्डन, (एजेन्सी) ।
स्पेनिस ला लिगाको बहुचर्चित भिडन्त ‘एल क्लासिको’ मा रियल मेड्रिड विजयी बनेको छ ।
आइतबार राति सान्टियागो बर्नबेउमा भएको खेलमा रियलले चिरपरिचित क्याटलान क्लब बार्सिलोनालाई २–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै रियलले अंक तालिकाको शीर्षस्थानमा एक अंकको अग्रता बनाएर पूनरागमन समेत गरेको छ । २६ खेलबाट ५७ अंक जोडेर रियल शीर्षस्थानमा उक्लन सफल भएको हो । पराजित बार्सिलोनाको समान खेलबाटै ५६ अंक छ । बर्नाबेउमा भएको निकै नै प्रतिस्पर्धात्मक उक्त खेलमा रियललाई जित दिलाउन युवा ब्राजिली फरवार्ड भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरेका थिए ।
खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो । रियलले ७१औं मिनेटमा पहिलो गोल गर्न सफल भयो । टोनी क्रुसको पासमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिस गर्दै रियललाई अग्रता दिलाएका थिए । जुनियरको प्रहार जेरार्ड पिकेलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो ।
इन्ज्युरी समयमा सब्सिच्युट मारियानो डियाजले मैदान छिरेको पहिलो मिनेटमा गोल गर्दै रियललाई २–० को जित दिलाए । डियाज इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले पहिलो मुभमै ड्यानियल कार्भाहलको पासमा गोल गर्न सफल भए । यी दुई टोलीले गत डिसेम्वरमा नोउ क्याम्पमा भएको खेलमा गोलरहित बराबरी खेलेका थिए ।