प्रधानमन्त्री भूकम्पमा



धरहरालाई जति अरू कसलाई थाहा होला र ⁄ भूकम्पको धक्का कति चोटिलो हुन्छ भनेर। ७२ सालमा आएको भूकम्पले धराशयी बनेको धरहरालाई त्यस दिनको सम्झनाले मात्र पनि नराम्रोसँग झस्काउँछ।

ठडिएको लठ्ठी भुइंमा ढलेझैं पश्चिम मुख गरेर पछारिएको मात्र हो र, टुक्रा–टुक्रा भएको, फेरि उठाउ नै नमिल्नेगरी। प्रधानमनत्री केपी ओली पनि अहिले धरहराजस्तै पीडित हुनुभएको छ, गोकुल बाँस्कोटा नामको भूकम्पको धक्काको चोटमा।

‘म भ्रष्टाचारीको मुख हेर्न चाहन्नँ’ भन्नु र बाँस्कोटा मुख नदेखाउने गरी राजीनामा दिएर बालकोट, भक्तपुरको उहाँकै निवासमा लुकेर बस्नु संयोग नै मान्नुपर्छ। ७० करोड रुपियाँ कमाउने, त्यसमध्ये के–कति क–कसलाई भाग दिने योजनामा रहेका बाँस्कोटालाई अडियो प्रकरणले हुत्याएर प्रधानमन्त्री नामको धरहरामा ठोक्कायो।

पार्टीका सबै कार्यकर्तालाई तुलोमा एकातिर र बाँस्कोटालाई अर्कातिर राखेर हेर्दा बाँस्कोटाकै पल्ला भारी देख्ने ओलीको दृष्टि दोष मात्र देखिएन, मर्यादासमेत खोसियो।

ओलीविरुद्ध आइतबारका दिन दुई नागरिक संयुक्त उजुरी बोकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेपछि भने ओलीलाई ‘यस्ता दिन पनि देखायौ बाँस्कोटा’ भन्ने लागेको हुनुपर्छ । ‘तर के गर्नु, भूकम्प नै आएपछि कसलाई पो त्यसले छोड्दो रहेछ र ।’

प्रतिक्रिया दिनुहोस्