प्रधानमन्त्रीलाई मनको बाघले सताएपछि…



केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विरुद्ध षड्यन्त्र भएको भन्दै आफैँ प्रचारवासी गरिरहेका छन्। सरकारसँग दुईतिहाइ बहुमत छ। दुई वर्ष बिते पनि अझै तीन वर्ष बाँकी नै छ। दुईतिहाइ बहुमत प्राप्त सरकारमाथि पनि प्रधानमन्त्री ओली किन षड्यन्त्र गरिरहेका छन् ? जनता तीनछक परेका छन् प्रधानमन्त्री ओलीको बोली सुनेर।

जनताले पाँच वर्ष सरकार चलाऊ, सके काम गर नसके आफन्त नातागोताको त पोस भनेर पठाएकै हुन्। धरहराले प्रधानमन्त्री निवास वालुवाटारमा दूरबिन सोझ्याउँदा त सरकार फ्याट्टै ढाली हाल्ने तत्व देखापर्दैन। तर, उखानै छ नि, बनको बाघले खाओस् कि नखाओस् मनको बाघ। अहिले सरकार ढाली हाल्ने तागत प्रतिपक्षको छैन्।

सत्तापक्ष पनि आफ्नै नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा पक्की पनि बनाउँदैन होला। प्रधानमन्त्री ओली अहिले आफ्नै पार्टीभित्रबाट पेलानमा परेका छन्। सकेसम्म पार्टीभित्र आफूविरोधी समूहलाई हेप्ने र पेल्ने नीति ओलीको पूरानै हो। अहिले पनि यथावत् नै रहेको छ।

प्रधानमन्त्री भएपछि पनि सरकार सञ्चालनमा पार्टीले निर्णय गरेका विषयहरू पाखा लगाउँदै सीमित घेराभित्र बसेर प्रधानमन्त्री ओलीले निर्णय गर्दाको परिणाम पार लाग्ने देखिएको छैन्। पार्टीभित्रैबाट सरकारको चर्को आलोचना हुने क्रम बढेपछि प्रधानमन्त्रीले भन्नुभयो– ‘सरकारविरुद्ध षड्यन्त्र हुँदै छ? प्रधानमन्त्रीज्यू, जनता जान्न चाहन्छन्– दुईतिहाइ बहुमत प्राप्त सरकार कसले ढाल्दै छ ? किन ढाल्दै छन्, ढाल्ने को–को हुन् ? ढालेपछि के पाउँछन् ?

प्रतिक्रिया दिनुहोस्