प्रदेश १ मा खोप अभियान सुरु, मन्त्रीले खुवाए पोलियो थोपा



सरोज यादव, विराटनगर ।

नेपालमा शुरु भएको पाँचौं दादुरा, रुवेला खोप अभियानलाई प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालिकालाई औषधि खुवाएर शुरु गर्नुभएको छ ।

मंगलबार एक समारोहका बीच मोरङको कटहरी–२ का रिना र विशाल साहकी २ वर्ष ४ महिनाकी छोरी नित्यालाई पोलियोको दुई थोपा औषधि खुवाएर घिमिरेले प्रदेश–१ मा अभियानको सुरुवात गर्नुभएको हो ।

मन्त्री घिमिरेले दादुरा रुवेला अभियानलाई प्रदेशमा सफल बनाउन सबै जनप्रतिनिधिलाई अनुगमन गर्न आग्रह गर्नुभयो । हरेक वडामा सबै बालबालिकाले खोप लगाएको वडा अध्यक्षले प्रमाणित गर्नुपर्ने र पालिका प्रमुखले पालिकाभित्रको प्रमाणित गर्नुपर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख भरत भण्डारीका अनुसार दक्षिण एशियाबाटै दादुरा रुवेला अन्त्य गर्ने महाअभियान शुरु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार, दादुरा रुवेला अभियानले प्रदेश–१ का ४ लाख २७ हजार ७ सय १२ बालबालिकालाई समेट्नेछ । अभियानमा ८ हजार बढी स्वास्थ्यकर्मी र १६ हजार बढी स्वयंसेविका खटाइएका छन ।

दादुरा रुवेला अभियानमा मोरङका ९२ हजार ८ सय ५ बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । ६ देखि १४ फागुनसम्म मोरङका ८ पालिका र १६ देखि २४ फागुनसम्म विराटनगर महानगरिपालिका सहितका ९ पालिकामा खोप लगाइदैछ ।

अभियानमा प्रदेश १ का झापा, मोरङ र सुनसरीका ३ लाख ५ हजार ३ सय ४८ बालबालिकालाई पोलियो थोपा खुवाइदैछ । सन् २०१९ को तथ्याङ्क अनुसार प्रदेश १ मा ३२ जनामा दादुरा भएको पाइएको थियो । मोरङमा मात्रै १३ जनामा दादुरा भएको तथ्याङ्कले देखाएको छ । सरकारले सन् २०२० भित्रमा दादुरा रुवेला अन्त्य भएको घोषणा गर्ने लक्ष्य राखेपनि पूरा नभएकाले २०२३ सम्ममा नियन्त्रण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्