सडक नै बन्द गरेर अवैधरुपमा निर्माण सामाग्री उत्खनन



नेपाल समाचारपत्र, पर्वत ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरमा आवगमन नै बन्द गरेर निर्माण ब्यबसायीले अर्को सडकमा प्रयोग गर्नका लागि अबैधरुपमा निर्माण सामाग्री उत्खनन गरेको पाइएको छ ।

कर्ण बिल्र्डस प्रालिले करिडोरमा पर्ने बागलुङ्ग नगरपालिकाको वडा नं १० गलुवा भन्ने ठाउँमा तीन साता अघिदेखि सडकमा आवगमन नै बन्द गरेर अर्को सडकमा प्रयोग गर्नका लागि निर्माण सामाग्री उत्खनन गरेका हुन ।

कर्ण बिल्र्डस प्रालिले मालढुंगा–पाग्जा–पानी–ट्याङ्गकी कुस्मीशेरा सडकअन्र्तगत पाग्जादेखि कुस्मीशेराको टाकुरीसम्म १० किलोमिटर सडक कालोपत्रे गर्ने काम गरिरहेको छ ।

सडकमा कालोपत्रे गर्नका लागि आबश्यक पर्ने निर्माण सामाग्री कालीगण्डकी करिडोरको १५ मिटर क्षेत्र भित्रैबाट बिना अनुमति उत्खनन गरेको र करिडोरको गलुवाखोला पुलसमेत जोखिममा परेको भन्दै करिडोरले निर्माण सामाग्री उत्खनन बन्द गर्न निर्माण ब्यबसायीलाई पत्राचार गरेको छ ।

कालीगण्डकी करिडोर (गैडाकोट–राम्दी–मालढुंगा) आयोजनाले माघ १७ गते र फागुन २ गते निर्माण ब्यबसायीलाई पत्राचार गरि सडक सिमा भित्र गरिएको उत्खननले पुल समेत जोखिममा परेको भन्दै तत्काल उत्खनन बन्द गर्न भनेको थियो।

आयोजनाले तत्काल उत्खनन बन्द गर्न र सडकमा आवगमन सुचारु गराउन आग्रह पनि गरेको छ । उक्त सडक केही समय अघि नेपाली सेनाले चौडा बनाई सडक बिभागलाई हस्तान्तरण गरेको हो । कालोपत्रे हुने चरणमा रहेको सडकको ठेक्का आब्हान पछि सम्बन्धित निर्माण ब्यबसायीले मात्रै सडकको क्षेत्राधिकार भएको क्षेत्रबाट निर्माण सामाग्री उत्खनन गर्न पाउने ब्यबस्था छ ।

सार्वजनिक सडक ऐन २०३१ ले पनि सडक क्षेत्रबाट निर्माण सामाग्री उठाउन मात्रै होइन सडक क्षेत्रमा क्षति हुने कुनै काम गर्नुपरेमा सबन्धित निकायबाट अनुमति लिनुपर्ने र क्षति भएको क्षेत्रमा मर्मत गर्नुपर्ने स्पष्ट ब्यबस्था गरेको छ ।

‘हामीले सडकको क्षेत्राधिकार भित्र उत्खनन बन्द गर्नका लागि पत्राचार गरेर ध्यानाकर्षण गराएका छौ’ आयोजनाका इन्जिनियर अर्जुन नेपालीले भन्नुभयो ‘हाम्रो पत्राचारलाई अबज्ञा गर्ने काम भएको छ, यो सार्वजनिक सडक ऐनको बर्खिलापमा छ ।’

निर्माण ब्यबसायी कर्ण बिल्र्डसका सञ्चालक नविन गुरुङ्ग भने पाग्जा–टाँकुरी सडक खण्डमा निर्माण सामाग्री नभएका कारण ब्यक्तिको नाममा रहेको जमिनमा उत्खनन गरिएको बताउनुहुन्छ । अहिले करिडोरको कालोपत्रे गर्ने काम नभएका कारण पनि उक्त क्षेत्रबाट उत्खनन गर्न पाउनुपर्ने माग उहाँको छ ।

प्रतिक्रिया दिनुहोस्