क्यान इन्फोटेकमा नेपाल प्रहरीको सहभागिता



नेपाल समाचारपत्र, काठमाडौं ।

कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) द्वारा काठमाडौंमा आयोजना गरिएको क्यान इन्फोटेक २०२० मा नेपाल प्रहरीले नागरिकलाई प्रदान गर्ने सूचना प्रविधिसम्बन्धी प्रदर्शनी गरी विविध सेवाबारे जानकारी प्रदान गरेको छ।

फागुन–२ गतेदेखि शुरू भई बुधबार सम्पन्न भएको उक्त इन्फोटेक अवधिभर नेपाल प्रहरीले छुट्टै स्टलमार्फत इन्फोटेक अवलोकनकर्तालाई प्रहरी सेवासम्बन्धी जानकारी प्रदान गरेको हो।

सो क्रममा प्रहरी प्रधान कार्यालयले सूचना प्रविधि निर्देशनालय, सञ्चार निर्देशनालय तथा साइबर ब्युरो भोटाहिटी र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट खटिएका प्रहरी अधिकृतद्वारा अनलाइन पुलिस क्लियरेन्स रिपोर्ट अनलाइनबाट भर्ने तरिका, साइबर अपराध र सोबाट बँँच्ने उपाय, साइबर अपराध गरेमा हुने सजाय, साइबर अपराधबारे उजुरी दिने निकाय तथा प्रक्रिया, सर्वसाधारणका समस्यासँग सम्बन्धित गुनासाहरू माध्यमबाट प्रहरी प्रधान कार्यालयमा तत्कालै राख्न सक्ने व्यवस्था, ट्राफिक सचेतना सम्बन्धमा लगायतका विषयमा जानकारी गराइएको थियो।

प्रदर्शनीमा सूचना प्रविधिमार्फत प्रहरीले प्रदान गर्ने सेवासम्बन्धी विविध चेतनामूलक पम्प्लेट वितरण गर्नुका साथै श्रव्यदृश्य सामग्री तथा प्रत्यक्ष अनलाइन अभ्यासद्वारा जानकारी प्रदान गरिएको थियो।

विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरू, सरकारी निकायका प्रतिनिधिहरू, संघ÷संस्थाका प्रतिनिधिहरू, प्रहरी कर्मचारीहरूलगायत आमनागरिले अवलोकन गरेको उक्त प्रदर्शनीमा प्रहरीले प्रदान गरेको जानकारीमूलक सेवाको बारेमा २ सय ६० जनाले सकारात्मक पृष्ठपोषण दिएका थिए।

प्रतिक्रिया दिनुहोस्