भूकम्पबाट लडेको खोकना महोत्सवबाट उठ्दै



सुनील महर्जन

खोकना तोरीको तेलले चिनिने ठाउँ हो। तर अहिले खोकनाबासीले तोरीको तेल कमै मात्र उत्पादन गर्ने गरेका छन्। खोकनाले अहिले आफ्नो सांस्कृतिक पहिचान जोगाउन अनेक चुनौती सामना गर्नुपरिरहेको छ।

केही दिनअगाडि मात्र खोकनाबासीले विकासको नाउँमा सांस्कृतिक पहिचान नामेट पार्ने प्रयास बन्द गर भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए। यही ठाउँमा सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न खोकना महोत्सव आयोजना गर्ने तयारी गरिरहेको छ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पले खोकना बस्तीका धेरै घरहरू लडेका थिए। अहिले सुस्तरी पुनर्निर्माण कार्य अघि बढिरहेको समयमा ‘खोकना पर्यटन महोत्सव २०७६’ आयोजना हुन लागेको हो। महोत्सव फागुन ९ गते शुरू हुने छ। ‘स्थानीय सीप र संस्कृतिको जर्गेना’ मूल नाराका साथ ‘खोकना पर्यटन महोत्सव’ हुन लागेको हो।

खोकनालाई अझ महत्वपूर्ण ग्रामीण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरी पर्यटनको दिगो विकासमा महोत्सवले टेवा पु¥याउने महोत्सव आयोजक समितिका संयोजक एवं ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिनुभयो।

महोत्सवमा खोकनाको प्राचीन एवं मौलिक संस्कृति, सम्पदा, नेवारी खाना र खाजाका परिकार मुख्य आकर्षणका रूपमा रहनेछन्। त्यसै गरी स्थानीय जीवनशैली, रहनसहन र भेषभूषाका अतिरिक्त स्थानीय सीप र कलाको समेत प्रत्यक्ष अवलोकन र अनुभव गर्न सकिने संयोजक महर्जनले बताउनुभयो। महोत्सव तीन दिनसम्म चल्नेछ।

डोजर लगाएर खोकना बसपार्कदेखि भित्री बस्तीसम्मको बाटो मर्मत भइरहेको छ। रुद्रायणी सत्तलमा विभिन्न बाजाका धुन गुन्जिरहेका छन्। स्थानीय लक्ष्मीप्रसाद डंगोलको नेतृत्वमा महोत्सवमा नेवारी बाजाहरूको अर्केस्ट्रा प्रस्तुत गर्न रिहर्सल भइरहेको छ। अर्केस्ट्रामा नगरा, धिमे, खिं, पछिमा, मादल, ढोलक, बाँसुरी, शंख, पोंगा छन्। महोत्सवमा लोप भइसकेका नेवारी याकु बोः बाजा र तिनानाः बाजा, काखमा एउटा तार च्यापेर हातले बजाउने परम्परागत गितार राखिने आयोजनाले जनाएको छ।

खोकना जावलाखेलबाट आठ किमि दक्षिण–पश्चिमतर्फ पर्ने पुरानो मौलिक बस्ती हो। मुलुकमै सर्वप्रथम बिजुली बलेको इतिहास खोकनासँग छ। सांस्कृतिक, धार्मिक र पुरातात्विक सम्पदाले भरिपूर्ण प्राचीन ऐतिहासिकस्थल यहाँ रहेका मूर्त र अमूर्त सम्पदा २०७२ सालको विनाशकारी भूकम्पले क्षतविक्षत बनाएको थियो। खोकना पर्यटन महोत्सव २०७६ मूल आयोजक कमिटीका सचिव रत्नकाजी डंगोलले भूकम्पले क्षतविक्षत बनेको खोकना बल्ल उठेको बताउनुभयो। ‘यो महोत्सवले हामीलाई थप ऊर्जा दिनेछ।’ –उहाँले भन्नुभयो।

महोत्सवका लागि ललितपुर महानगरबाट १२ लाख ५० हजार, प्रदेश सरकारबाट २ लाख ५० हजार, ललितपुर महानगर–२१ वडाबाट ५ लाख गरी २० लाख बजेट विनियोजन गरिएको पनि संयोजक एवं ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो। खोकना र खोकना बासीहरूको संस्कृति र परम्परा मौलिक र अन्य ठाउँको भन्दा फरक छ। खोकनामा रुद्रायणी जात्रा विशेषरूपमा मनाइने भए पनि नेपालीहरूको महान् चाड दशैं भने मानिँदैन।

प्रतिक्रिया दिनुहोस्