नक्कली इन्सपेक्टर पक्राउ



भद्रपुर, (नेस)

नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै स्थानीय युवाबाट रकम असुल्ने एक नक्कली प्रहरी निरीक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–३ भुल्के का २२ वर्षीय विजय वाग्ले रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो।

वाग्लेसँग गृह मन्त्रालय, नेपाल प्रहरीको परिचयपत्र फेला परेको छ। उनले परिचय पत्रको दर्जामा प्रहरी निरीक्षक लेखेका छन्। वाग्लेले आफू नेपाल प्रहरीको प्रहरी निरीक्षक भन्दै सोलुखुम्बुको नेचेसल्यान गाउँपालिका–३ का २० वर्षीय पुण्यप्रसाद कट्टेल र खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का १९ वर्षीय सफल आचार्यसँग डेढ लाख रकम असुल्दै प्रहरीको असईमा जागिर लगाइदिन्छु भनेर ठगी गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो।

नक्कली प्रहरी निरीक्षक बनेर वाग्ले स्थानीय युवाबाट रकम ठगी गरेको प्रहरीमा उजुरी परेको आधारमा वाग्लेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको उहाँले जनाउनुभयो। वाग्लेलाई झापा जिल्ला अदालतमा पेस गरी ठगी र सरकारी कागज किर्ते मुद्दा दर्ता गराई थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्