एमसीसीमा कांग्रेसको ग्रिन सिग्नल



बाँके, (नेस)।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमसीसी सम्झौताका लागि कांग्रेसले ग्रिन सिग्नल दिएको बताउनुभएको छ।

सत्ताधारी नेकपामा तीव्र विवाद देखिएको एमसीसी सम्झौताका बारेमा कांग्रेसले उदारता देखाएको हो। नेपालगन्जमा बुधबार बीपी स्मृति पुस्तकालयको उद्घाटन गर्दै नेता सिंहले नेपाली कांग्रेस एमसीसी सम्झौताको पक्षमा रहेको बताउनुभयो।

‘एमसीसी सम्झौता आर्थिक विकासका लागि हो। सुरक्षासँग सम्बन्धित छैन’, नेता सिंहले भन्नुभयो– ‘एमसीसी सम्झौतालाई अगाडि बढाउन कांग्रेसले ग्रिन सिग्नल दिइसकेको छ।’ उहाँले नेपाल र अमेरिकाका बीचमा हुन थालेको एमसीसी सम्झौतालाई भारतले पनि अनुमति दिइसकेको जानकारी दिनुभयो। सम्झौताले अन्तरदेशीय विद्युतीय प्रसारण लाइन, ३ सय किलोमिटर बढी बाटो अपग्रेड गर्ने सिंहको भनाइ थियो।

नेता सिंहले जिल्लाका नेता तथा कार्यकर्तालाई पावर पोलिटिक्सभन्दा आदर्श र सिद्धान्तको राजनीति गर्न आग्रह गर्नुभयो। उहाँले कांग्रेसलाई विधि, नियमसम्मत, जनताको अधिकारलाई बुझेर अघि बढ्ने पार्टीको रूपमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। युवा नेता गगन थापाले सरकार अधिनायकवादतर्फ अघि बढेको बताउँदै सेनादेखि न्यायालयसम्म थर्थर रहेको बताउनुभयो। उहाँले पहिला बन्दुक र सेनाको भरमा अधिनायकवाद आउँथ्यो, अहिले चुनाव जितेर अधिनायकवादी आएको छ, विकास र समृद्धिको कुरा गरेको छ भन्नुभयो।

थापाले कांग्रेसले बीपी र गणेशमानको मार्गलाई छोड्यो भनेर आलोचना भइरहेको बताउँदै आजको दिनमा बीपी र गणेशमान भएको भए पनि संघीय गणतन्त्रात्मक संविधानलाई आत्मसात् गर्नुहुन्थ्यो भन्नुभयो। उहाँले कांग्रेसले सरकार होइन, नागरिक बलियो भएको हेर्न खोजेको बताउनुभयो।
प्रजातन्त्र दिवसको अवसर पारेर कांगे्रस बाँकेले बीपी स्मृति पुस्तकालय उद्घाटन गरेको छ। त्यसअघि नेताहरूले बीपीचोक र गणेशमानचोकमा पुगेर नेताहरूको सालिकमा माल्र्यापण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्