प्रेम र सद्भावको अवमूल्यन



सोमबार कृष्णबहादुर महरालाई सफाइ दिएको घोषणा काठमाडौं जिल्ला अदालतले के गरेको थियो, प्रेम र शान्तिको भाषा नबुझ्ने सरकारी कर्मचारीलाई मुद्दा अघि बढाउने मति जागिहाल्यो। रोशनी शाहीले महराले मलाई यौन दुव्र्यवहार गरेको होइन भनेपछि सरकारी कर्मचारीलाई जुत्ताको तलुवा, फुटेको चस्मा, हिमालयन ब्रान्डको रक्सी आदि किन हेर्नुपर्ने !
रोशनीको घरबाट बाहिर निस्कने हडबडमा महराले जुत्ताको तलुवा छोडेका र चस्मा फुटेको आदि–इत्यादि हुन सक्छ। तर, महराले त्यही बेलामा ती सामग्री छोडेका थिए भनेर सरकारी कर्मचारी किन जिद्दी गरिरहेका छन् ? उमेरदार महिला र पुरुष साँझमा हिमालयन ब्रान्डका साथ भेटिए भन्दैमा दुव्र्यवहार नै हुन्छ, माया–प्रेम पनि हुन सक्छ। रोशनीले ‘महरा त मेरा अभिभावक’ भनेपछि बेकारमा किन अविश्वास !
महराले प्रतिनिधिसभाको सभामुखजस्तो पद बलिदान गरेर प्रेम तथा सद्भावका लागि खेलेको भूमिका नदेख्ने, जुत्ताको तलुवा र चस्मा जाबो देख्ने सरकारी मान्छेहरू के भाका ! एउटा बचेको सांसद पद पनि खाने नियतले प्रेम र सद्भावका विपक्षमा उभिने सरकारी अधिकारीलाई अख्तियारले चिठी काटिहालोस्, लौ खाओस् !

प्रतिक्रिया दिनुहोस्