बेकारको मिडियावाजी !



जर्ज जे फ्युरीले अग्निप्रसाद सापकोटालाई भेटेनन्। क्यानेडेली सिनेटका प्रमुख फ्युरी र नेपाली प्रतिनिधिसभाका सभामुख सापकोटाबीच भेट भएन। यस विषयलाई ठूलो महत्वमा साथ नेपालका मिडियाले समाचार बनाए।

यहींनिर धरहरालाई झोक चल्छ क्या ! फ्युरी र सापकोटाबीच भेट हुनैपर्ने के कारण थियो र मिडियाले यस प्रकारको टिप्पणी गरे ? बढी जान्ने हुने ! कुनै श्रीमान्–श्रीमती, प्रेमी–प्रेमिका वा अभिन्न मित्रहरू हुन् र भेट्नैपर्ने !

ती फ्युरीको जात के हो, कुन गोत्रका हुन् र भक्ष–अभक्ष के खान्छन् केही थाहा छैन, यता सापकोटाको त जात–गोत्र सबथोक प्रष्ट छ। वास्तवमा हेरिल्याउँदा फ्युरी र सापकोटाबीच अलिकति उचाइबाहेक केही पनि मिल्दैन।

क्यानडा उहिलेदेखि समाजवादी राजनीतिक संस्कारमा छ, नेपालमा केवल संविधानमा ‘समाजवाद उन्मुख’ भनेर लेखिएको छ। नेपालमा पाइलै पिच्छे भ्रष्टाचार र कमिसनको खेल चल्छ, क्यानडामा प्रधानमन्त्री अर्थात् कार्यकारी प्रमुख जस्टिन ट्रूडो सानो आरोप आइलाग्दा पद छोड्न तयार हुन्छन्, हाम्रा सापकोटालाई हत्याकै आरोप लाग्दा र त्यसको मुद्दा सर्वोच्च अदालतमा चलिरहँदा पनि बाह«हातको ठाँगोले छुदैन।

ओली र प्रचण्डजस्ता अध्यक्षहरूले नै आरोपरहित योग्य अर्को पात्र नभेटेपछि के लाग्छ ! जेहोस्, कतै केही नमिल्ने व्यक्तिसँग भेटघाट गर्नु ठीक थिएन र भएन। यत्ति कुरो पनि नबुझेर मिडियावाजी गर्ने !

प्रतिक्रिया दिनुहोस्