प्रधानमन्त्री बन्ने रहर



धरहरालाई प्रधानमन्त्री बन्ने औडाहा चलेको छ। बरु अर्को जुनी लिनुपरे धरहरा लिन्छ, तर प्रधानमन्त्री चाहिं नभई छोड्दैन। छोड्ने कुरा पनि आउँदैन, एक पटक प्रधानमन्त्री हुने र सधैंका लागि कारबाहीबाट मुक्त बन्ने जो अवसर यस गरिमामय पदमा छ, अरू कसैलाई छैन।

उदाहरण माधवकुमार नेपाल र बाबुराम भट्टराई नै हेरे पुग्छ। उहाँहरूको ग्रहदशाले प्रधानमन्त्री बनाएकै कारण बालुवाटार जग्गा खरिद प्रकरणबाट मुक्ति मिलेको भन्ने जानकारीमा आएपछि धरहराको मुखभरि र्याल भरिएको छ। यो र्यालमा प्रधानमन्त्रीको कुर्सी मग्मगाइरहेको छ।

उपप्रधानमन्त्री चाहिं जतिपटक भए पनि काम छैन रहेछ। उपप्रधान त के, कार्यवाहक प्रधानमन्त्री भए पनि अर्थ देखिएन। विजयकुमार गच्छदार कतिपटक कार्यवाहक भए–भए, त्यसले कुनै महŒव राखेन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारलाई झ्याप पारिहाल्यो। नेपाली कांग्रेसले संसद् बैठक नै ठप्प पारेर गच्छदारलाई काँध हाल्दा पनि बचाउन सकिएन। बरु, कांगे्रसलाई ‘भ्रष्टाचारका आरोपित व्यक्तिलाई काँध हाल्ने काइदा, नेकपालाई फाइदा’ भन्दै एकथरी टिप्पणी गरिरहेका छन्।

यस्ता टिप्पणीतिर धरहराको ध्यान त्यति गएको छैन। गएको छ त केवल नेपाल र भट्टराईको लोभलाग्दो भाग्यप्रति। मन्त्रिपरिषद्लाई नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुन नसक्ने, त्यसका नायक प्रधानमन्त्रीतिर त यसले आँखा उठाएर हेर्नसम्म नमिल्ने ⁄ वाह, क्या गज्जबको पद !

प्रतिक्रिया दिनुहोस्