सानोको बोलबाला

0
Shares

जमाना सानोको छ भनेर धरहराले पहिलादेखि भन्दै आएको हो। पहिला पानाभरिका ठूला समाचार पढ्नेहरू आज अनलाइनका साना समाचार हेर्न रुचाउँछन्, हिजो फिचर फिल्म हेर्नेहरू आज छोटा डकुमेन्ट्रीतिर लागेका छन्। करिश्मा मानन्धर हेरेर दंग पर्नेहरू प्रियंका कार्कीतिर आकर्षित भएका छन्। ठूला छोडेर सानातिर आँखा रमाउन थालेका छन्।

समाचारदेखि नायिकासम्मको उदाहरण दिएर मानिसका आँखा सानातिर लोभिन थाले भनेर धरहराले दावी गरे पनि खेल प्रेमीहरूलाई अपत्यारिलो लागेको हुनसक्छ। तर, यस्तै हो भने धरहरासँग खेलकुदकै उदाहरण पनि नभएको होइन। खेलुकुदमा सबैभन्दा ठूलो भकुण्डोवाला खेल कुन हो ? फुटबल।

अहिले ए डिभिजन लिग चलिरहेको छ। एन्फामा चलेको फुटबलका दर्शक हेर्नुहोस्। सँगसँगै कीर्तिपुरमा चलिरहेको क्रिकेट विश्वकप लीग हेर्नुहोस्, अनि ध्यान दिनुहोस्– यी दुबै खेलका दर्शकहरूलाई।

कुरो बुझिएन ? एन्फामा टाक्कटुक्क दर्शक, अनि क्रिकेटमा खचाखच दर्शक। ठूलो बल खेल्ने ठाउँमा थोरै, सानो बल खेल्ने ठाउँमा धेरै दर्शक। अर्थात् फुटबलभन्दा क्रिकेटको बल दर्शकलाई मनपरेको देखियो।

यो नियम नेपालमा आएको धेरै चाहिं भएको होइन है ! पहिला त नेपालीहरू ठूलै बलतिर झुम्मिन्थे। फुटबल कि भलिबल भन्थे। दुबैका बलहरू सप्रेको मेवा वा रुख कटहरभन्दा ठूला हुन्थे। तर हिजोआज त मानिस सुन्तलाका दानातिर पो लागे ! सानोको बोलबाला !