भट्टराई परिवारलाई एक लाख सहयोग



हेटौंडा, (नेस)।

चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष, अभिनेता तथा निर्माता स्व. केशव भट्टराईको परिवारलाई १ लाख १ हजार रुपियाँ सहयोग गरेको छ। उक्त रकमको चेक आइतबार हेटौंडामा हस्तान्तरण गरिएको हो।

भट्टराई परिवार सहयोग समिति संयोजक एवं विकास बोर्ड पूर्वअध्यक्ष राजकुमार राईलाई चलचित्र पत्रकार संघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमले चेक हस्तान्तरण गरेका थिए।

चेक हस्तान्तरण गर्दै अध्यक्ष गौतमले भट्टराईले यस क्षेत्रमा दिएको योगदान सदैव अमूल्य रहने चर्चा गरे। कार्यक्रममा भट्टराईको श्रद्धाञ्जलीसभा गरिएको थियो।

चौथो अधिवेशका क्रममा आइतबार सहयोग हस्तान्तरण गरिएको हो। चौथो अधिवेशनले गौतमकै अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। संघ उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल, कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा रवीन्द्र गौतम चयन भएका छन्। सदस्यमा सञ्जु रिजाल, दर्शन क्षेत्री, अमृता पराजुली र दीपकसिंह रुम्बा पनि सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक गिरिजा अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्