गर्मी बढ्यो राजनीतिमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ लाई विशेष अदालत पुर्याएर निकै मेहनतका साथ बालेको आगोले निकैलाई राहत दिने निश्चित छ।

यस आगोमा दाउरा बनेका नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको योगदानको सबैले उच्च मूल्यांकन गर्नैपर्छ। जाडोमा तापमान बढाएकोमा उहाँलाई साधुवाद छ।

वास्तवमा वातावरण तताउनु आजको आवश्यकता हो। यस्तो बेला दाउरा बन्नका दुखले भागेर हिंड्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, सत्ताधारी दल नेकपाका महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको भने जति आलोचना गरेपनि थोरै हुन्छ।

वास्तवमा नेपाल, पौडेल र रेग्मी राणाकालका टंकप्रसाद आचार्य र रामहरि शर्मा त होइनन् नि उन्मुक्ति पाउनका लागि। त्यसमाथि ब्राह्मण भएकै कारण फरक सजाय हुने कानुन अब खारेज भइसकेको छ। हो, दलीय हैसियतले भने जातको भन्दा बलियो प्रभाव जमाएको छ।

धरहरालाई नै हेर्नुस्, पहिला–पहिला कसैले भेट्दा उसलाई ‘तपाईं कसमा पर्नुभो’ भनेर जात सोध्थे, आज तपाईं ‘कुन पार्टीको भोटर’ भनेर जिज्ञासा राख्छन्।

जब धरहरा ‘म कुनै दलमा छैन, भोटर भने छु, भोट कहाँ दिन्छु भन्न मिल्दैन’ भनेर जबाफ दिन्छ, तब सोध्ने मनुवा ‘लौ तँ बिग्रिछस्’ भनेर पछाडि फर्किन्छ। नेपाल, पौडेल र रेग्मी भने नबिग्रिने रहेछन्, प्रसन्नता यत्ति मात्र छ !