३५ वर्षपछि फेरि के घर के डेरा



३५ वर्षअघि प्रदीप रिमालले निर्देशन गरेको फिल्म के घर के डेराको नाममा फेरि फिल्म निर्माण हुने भएको छ। सुव्रतराज आचार्यले निर्देशन गर्ने फिल्मको सोमबार राजधानीमा आयोजित एक समारोहबीच निर्माण घोषणा गरिएको छ।

फिल्ममा अभिनेताद्वय दयाहाङ राई, विपीन कार्की, वर्षा राउत, लुनिभा तुलाधर, रवीन्द्र झा, आर्सिना भट्टराईलगायतले प्रमुख भूमिकामा अभिनय गर्नेछन्। के घर के डेरा निर्देशक आचार्यको तेस्रो प्रोजेक्ट हो।

यसअघि उनले अर्धकट्टी र सुश्री सम्पत्ति निर्देशन गरेका थिए भने दर्जनौं गीतको म्युजिक भिडियो निर्देशन गरेका छन्। उनले अघिल्ला फिल्ममा आफूबाट भएका कमीकमजोरी यो फिल्ममा सुधार गर्ने बताए। त्यस्तै, अभिनेताद्वय दयाहाङ र विपीनले फिल्मको कथा र भूमिका मन परेका कारण काम गर्न राजी भएको बताए।

शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा राजीव श्रेष्ठ र किरण महर्जन निर्माण गर्ने फिल्ममा ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा रहनेछन् भने यमप्रसाद ओली सहनिर्माता रहनेछन्। हरि फिल्मका निर्देशक सफल केसी र प्रतीक गुरुङको पटकथा रहेको फिल्मको कन्सेप्ट निर्माता सिंगे लामाको हो।

सिंगेले यसअघि जात्रा, जात्रै जात्रा र हरि फिल्म निर्माण गरिसकेका छन्। काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरूको कथा बोल्ने फिल्ममा डीपी खनाल र सुव्रतराज आचार्यको गीत, शंकर थापा ‘स्माइल’को संगीत र गायन, उदयराज पौडेलको एरेन्ज र गम्भीर विष्टको कोरियोग्राफी, दीर्घवीर गुरुङको छायांकन र मित्र डी गुरुङको सम्पादन रहनेछ।

प्रतिक्रिया दिनुहोस्