कुस्मामा प्रकाश सपुतको गलबन्दी च्यातियो



दुर्गाप्रसाद शर्मा, पर्वत

पछिल्लो समयमा निकै चर्चा बटुल्न सफल गायक प्रकाश सपुतले पर्वतको कुस्माबजारमा सञ्चालन भइरहेको छैंठौ पर्वत महोत्सवमा विशेष सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई रुवाउने र नचाउने काम गरेका छन्।

पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा छिमेकी जिल्ला बाग्लुङमा जन्मेका प्रकाश सपुत प्रमुख आकर्षणका रूपमा मञ्चमा उक्लिएका थिए। सपुतको प्रस्तुतिले महोत्सव संगीतमय बन्यो भने हजारौं दर्शकले एकसाथ कुनै बेला आँसु खसाले भने कुनै बेला पुरै झुमे, रमाए।

एक घण्टा लामो प्रस्तुतिमा सपुतले चल्तीका गीत नै गाएका थिए। उनले शुरूमा गम्भीर भावका गीत प्रस्तुत गरे पनि अन्तिममा रमाइला र स्वच्छन्द शैलीका गीत सुनाए भने गायिका मञ्जु पौडेल र तुलसा जिसीसँग दोहोरी गाएर उत्तिकै मनोरञ्जन दिलाए।

विदेशिएका साथीभाइ सम्झेर सपुतले यस्तै छ कहानी परदेशीको, चररर… बररर… र बोलमाया गीत गाउँदा दर्शक दीर्घामा मौनता छाएको थियो। परदेशमा प्रियजन गुमाउने परिवारको वेदनामा आधारित गीत बोलमाया गाउँदा पाका उमेरका अधिकांश महिला दर्शक बढी रोएका देखिन्थ्यो।

गम्भीर विषय र भावका गीत गाएपछि उनले फरक धारका गीतमा आफूलाई प्रस्तुत गरेका थिए। सपुतले लुरुरु… हुरुरु.., रेलीमाईलगायतका लोकदोहोरी गीत पनि सुनाए। पञ्चेबाजामा आधारित माकुरमाकुर घुर गाउँदा दर्शकले नाचेर साथ दिए।

बहुचर्चित र दर्शक/स्रोताले प्रतीक्षा गरेको गीत गलबन्दी दर्शकदीर्घाबाट वाहीवाही गुन्जियो। टाउकोमा गलबन्दी बाँधेर अर्को गलबन्दी भिरेरै गाउन थालेपछि महोत्सव चलिरहेको बड्गाउँको खेल मैदानमा दर्शक पनि गलबन्दी हल्लाउँदै नाचेका थिए।

साँझको समयमा युवालक्षित गीत दोहोरी ब्याटल १ र २ गाउँदा कन्र्सट र डिजे पार्टीलाई माथ गर्दै दर्शक नाँचेका थिए। अन्तिममा गाएको दोहोरीले सबै खाले दर्शकलाई मनोरञ्जन दिन सफल भए।

प्रतिक्रिया दिनुहोस्