नेपाल प्रहरीका खेलाडी सम्मानित


न्युज अफ नेपााल, काठमाडौं ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३औं दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गरेका नेपाल प्रहरीका खेलाडीलाई नगद पुरस्कारद्वारा सम्मान गरेका छन् ।

नेपाल प्रहरी खेलकुद समितिद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक खनालले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका हुन् । साथै उनले कोरियन तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर क्वान योङ दाल, कराते प्रशिक्षक राजेश श्रेष्ठ र जुडो प्रशिक्षक प्रहरी नायव निरीक्षक देवु थापालाई समेत दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

प्रतियोगितामा नेपाल प्रहरीका सिंगल खेलतर्फ स्वर्ण पदक विजेतालाई १ लाख २५ हजार, रजत पदक विजेतालाई ६० हजार र कास्य पदक विजेतालाई ३० हजार तथा समूहगत खेलतर्फ स्वर्ण पदक विजेतालाई ७५ हजार, रजत पदक विजेतालाई ४० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरेको हो । उक्त प्रतियोगितामा नेपाल प्रहरीमा आवद्ध ९२ जना खेलाडीहरु विभिन्न खेलहरुमा सहभागी भएका थिए ।