रामकृष्ण ढकाल गाउँदै रोए दर्शकलाई पनि रुवाए



दुर्गाप्रसाद शर्मा,पर्वत। 

माघ महिनाको चिसो रात, खुला चौरमा दर्शकको बाक्लो उपस्थिति थियो। चिसो रातमा लोकप्रिय गायक रामकृष्ण ढकालले दर्शकलाई नचाएनन् मात्रै, आफू पनि रोए र दर्शकलाई पनि धरधरी रुवाए।

शनिबार पर्वत महोत्सअन्तर्गत एकल प्रस्तुति दिएका ढकालले पर्वतेलीलाई कुनै गीतमा रुवाए त कुनै गीतमा छमछमी नचाए पनि। पहिलोपटक पर्वत आएका ढकालको एकल प्रस्तुतिमा उनले आँसु खसाले भने दर्शक त धरधरी रोए।

मलाई यो जिन्दगीले कहाँ पुर्यायो, कहिले हसायो, कहिले रुवायो भन्ने गीतमा उनी भावुक बने, एउटा हातले आँखाको आँसु पुछेपछि दर्शकदीर्घामा बसेका धेरैले आँसु झारे। गायक ढकालले आफ्नो प्रस्तुतिको थालनी बिहान उठ्ने बित्तिकैबाट गरे।

त्यसपछि आफ्ना एक दर्जनभन्दा बढी गीत सुनाए। उनले आफ्ना अधिकांश चर्चित गीत सुनाएर पर्वत महोत्सवका दर्शकको मन जिते। सेती खोला तरौंला, पापी मन कसरी बुझाउँलामा वान्स मोरको माग भएपछि उनले सो गीत दोहोर्याएर नगाई सुखै पाएनन्।

उनको यो गीतमा सबैभन्दा बढी दर्शक नाचे। ओराली लागेको हरिणको चाल भो, मन पराउने हजार भेटिन्छन् बोलका गीतमा दर्शक भावुक बनेका थिए। कतिपय दर्शक धरधरी रोएको देखिन्थे।

पर्वत जिल्लामा पहिलोपटक एकल प्रस्तुतिको कार्यक्रम राखेर ढकाललाई बोलाइएको महोत्सव आयोजक समितिका संयोजक केदारनाथ शर्माले बताए।

रामकृष्ण ढकालका गीतका पारखी धेरै भएका कारण महोत्सवमा उनको एकल प्रस्तुतिको कार्यक्रम राखिएको उनले बताए। यसअघि शनिबार दिउँसो चर्चित लोकदोहोरी गायक विमलराज क्षेत्री, कला लम्साल, ईश्वर सिंहलगायतको प्रस्तुति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्