गायक जेबी टुहुरे एकल साँझमा गुञ्जिएका छन्। सर्लाहीको हरिवन–५ घुर्कैलीस्थित श्रवण द्वन्द्वपीडित बालगृहमा आयोजित जेबी टुहुरे एकल गायनको चौथो शृंखलामा गायक टुहुरेले आफ्ना गीतहरू सुनाएका हुन्।
द्वन्द्वपीडित बालगृहको सहयोगार्थ तथा नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धनका लागि आयोजित कार्यक्रम उनले आमा माया बोलको गीतबाट कार्यक्रम शुरू गरेका थिए।
कार्यक्रमका क्रममा उनले बसाइँ हिँड्नेको ताँतीले, दुःखको बोझ बिसाउन, पानी चल्दैन रे, बरु मेरो छाती छेड्लालगायतका गीत सुनाएर संगीतप्रेमीलाई मुग्ध बनाए।
टुहुरेले आमा दिदी बहिनी हो बोलको गीत सुनाउँदा दर्शक रमाएर गीतको तालमा नाचेका थिए। कार्यक्रममा उनले आफ्ना १४ वटा गीतमार्फत संगीतप्रेमीको मन जिते।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि टुहुरेका गीतमा रमेका थिए। कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले हरिवन नगरपालिकाको तर्फबाट गायक टुहुरेलाई अभिनन्दन गरे।
सो अभिनन्दनले आफूलाई गायनमा निरन्तर अघि बढ्न अझ प्रेरणा मिलेको टुहुरेले बताए। चेतना सन्देश नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा टुहुरेलाई प्राज्ञ उदय श्रेष्ठ, सांसद मधु गुरुङ, कलाकार आकाश थापा र गंगा राईले पनि साथ दिएका थिए।












प्रतिक्रिया