राजघाट पुगेर प्रधानमन्त्री बालेनले भने– ‘गान्धीको विरासतमा करुणा र सेवाको प्रकाश देखेको छु’


काठमाडौँ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले महात्मा गान्धीले देखाएको सत्य, अहिंसा र सेवाको मार्गलाई आत्मसात् गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह सोमबार बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

सो अवसरमा उनले गान्धीको जीवन र दर्शनले सत्यको शक्ति विश्वका अन्य शक्तिभन्दा महान् हुने सन्देश दिएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको व्यक्तिका रूपमा गान्धीको विरासतमा करुणा र सेवाको अमर सन्देश पाएको बताएका छन्।

उनले भनेका छन्, ‘भगवान् गौतम बुद्धको जन्मभूमिबाट आएको मैले गान्धीजीको विरासतमा त्यही अमर प्रकाश देखेको छु, जसले करुणा नै सबैभन्दा ठूलो शक्ति हो र वास्तविक नेतृत्व भनेको समाजका सबैभन्दा कमजोर वर्गको निःस्वार्थ सेवा गर्नु हो भन्ने सन्देश दिन्छ।’

प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध केवल भौगोलिक सामीप्यमा मात्र आधारित नभई साझा आस्था, आत्मीयता र पुस्तौँदेखिको मित्रताले जोडिएको सम्बन्ध भएको पनि उल्लेख गरेका छन्।

गान्धीका आदर्श र सिद्धान्तप्रति सम्मान व्यक्त गर्दै उनले नेपाल–भारत सम्बन्धलाई इमानदारी, आपसी सम्मान र अटुट विश्वासका आधारमा थप उचाइमा पुर्‍याउने नेपालको प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।