काठमाडौँ।
प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमाथिको सुनुवाइ आजका लागि अघि बढ्न सकेन।
नयाँ प्रहरी महानिरीक्षक डा. मनोज केसीका नाममा अदालतको म्याद तामेल हुन बाँकी रहेपछि सुनुवाइ प्रक्रिया रोकिएको हो।
यसअघि सर्वोच्च अदालतको टोली म्याद बुझाउन प्रहरी प्रधान कार्यालय पुगेको थियो। तर, त्यतिबेला डा. केसीलाई एआईजीका रूपमा सम्बोधन गरिएको भन्दै कार्यालयले म्याद ग्रहण गर्न अस्वीकार गरेको थियो।
म्याद तामेलीमा देखिएको उक्त समस्यापछि कार्कीले सर्वोच्च अदालतमा छुट्टै निवेदन दिएका थिए। सोही निवेदनका आधारमा डा. केसी प्रहरी महानिरीक्षक रहेको तथ्य स्पष्ट पार्दै यसअघिको निवेदन र आदेशमा आवश्यक संशोधन गरिएको थियो।
अदालतको आदेशअनुसार म्याद बुझाउने प्रक्रिया अझै पूरा नभएकाले आजका लागि निर्धारित सुनुवाइ हुन नसकेको हो। सर्वोच्च अदालतले रिटको अर्को पेसी मिति भने सार्वजनिक गरिसकेको छैन।








तपाईंको विचार लेख्नुहोस्