तेस्रोलिंगी अजिताको बलात्कारपछि हत्या भएको आशंका



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ । शनिबार हेटौंडा–५, क्याम्पाडाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिंगी अधिकारकर्मी सुरजकिरण थापाले दाबी गर्नुभएको हो ।

लैंगिक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आउनुभएकी भुजेलको शव विभत्स अबस्थामा फेला परेको थियो । भुजेलको घटना रहस्यमय रहेकोले गहिरो अनुसन्धानका लागि शवको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पताल शनिबार नै पठाइएको थियो ।

अधिकारकर्मी थापाका अनुसार भुजेल नग्न अबस्थामा भेटिएकोले बलात्कार भएको हुनसक्ने अस्पतालका चिकित्सकले बताएका छन् ।
हेटौंडा–११, नवलपुरकी २९ वर्षकी तेस्रोलिंगी अजिताको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि नवलपुरमा सोमबार दाहसंस्कार गरिएको छ । पोष्टमार्टममा अजिताको घाँटीमा निलडाम, टाउकोमा चोट देखिएको चिकित्सकले बताएको अजिताका फुपाजू देवहादुर थापाले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार पोष्टमार्टम रिपोट तीन दिनभित्र आउनेछ । फुपाजू थापाले अजिताको हत्या भएको भन्दै हत्यामा संलग्न कसैलाई पनि छाड्न नहुने बताउनुभयो । अजिताको घाँटीमा बत्तीको तार बेरिएको र घाँटीमा निलडाम देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले जानकारी दिनुभयो । शंकास्पद् केहीलाई सोधपुछ गरिएको बताउँदै उहाँले अनुसन्धान जारी रहेको बताउनुभयो ।

प्रहरीले अजिताको हत्या भएको आशंकामा केहीलाई सोधपुछ गरेर अनुसन्धानको घेरामा राखेको जनाएको छ । एसपी राठौरले अजितासँग शारीरिक सम्बन्ध राख्नेहरुको पनि खोजी भइरहेको बताउनुभयो । उहाँले अपराधी कुनै हालतमा उम्कन नपाउने दाबी गर्नुभयो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अजिताको परिवारले घटनामा संलग्न दोषीलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । अजिताका काका गेदबहादुर भुजेलले घाँटीमा तारले बेरेको र निर्वस्त्र सडकमा फालिएको अबस्थामा शव भेटिनु शंकास्पद् भएको बताउनुभयो ।

घटनाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले असुरक्षित भएको बताएका छन् । अधिकारकर्मी थापाले षडयन्त्र गरेर अजिताको हत्या भएको हुनसक्ने भन्दै दोषीलाई कारबाही गर्न प्रहरीसँग अनुरोध गरिएको बताउनुभयो ।

अजिताले लगाएको सुनको गहना, मोबाइल भेटिएको छैन । अजिताको बलात्कारपछि हत्या भएको भन्दै किरणले अजिताको हत्यासँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले असुरक्षित महसुस गरेको बताउनुभयो । उहाँले सुरक्षाको ग्यारेन्टी गर्न माग गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्ररही निरीक्षक ललनकुमार कुर्मीका अनुसार रिपोर्ट आउन केही समय लाग्ने बताइएको छ । कुर्मीले भन्नुभयो–हामीले फोनकल डिटेल हेरिरहेका छौं । चाँडोभन्दा चाँडो हत्यारा पत्ता लगाइने कुर्मीले दाबी गर्नुभयो । अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर प्रयोग गरिएको छ ।

अजिताले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पहिलोपटक लैंगिक पहिचानका आधारमा नागरिकता लिनुभएको थियो । उहाँले समलिंगी विवाह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्