पर्वतमा घरभाँडा लिनेदिनेको विवरण संकलन शुरु



नेपाल समाचारपत्र,पर्वत। 

पर्वतमा घरभाडामा लिने र दिने व्यक्तिहरुको विवरण संकलन गर्न थालिएको छ । पछिल्लो समय घरभाडामा बस्नेहरुबाट विभिन्न अपराधिक गतिविधिहरु बढ्दै गएपछि गृह मन्त्रालयले नेपालभर घर भाडामा बस्ने र बस्न दिने घर मुलीको विवरण संकलन गर्न निर्देशन जारी गरेको थियो ।

गृहको निर्देशन लगत्तै पर्वतमा यसै सातादेखि विवरण संकलन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले बताउनुभयो । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाका ६१ वटै वडा तथा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र जिल्लाभर रहेका एक दर्जन भन्दा बढि प्रहरी चौकीबाट विवरण संकलन गर्न थालिएको नेपालले बताउनुभयो ।

पर्वतमा सवैभन्दा बढि सदरमुकाम कुश्माबजार र दोस्रो व्यापारिक केन्द्र वारीबेनीबजार, तेस्रो पातीचौर र दक्षिण पर्वतको पैंयु गाउँपालिका स्थित हुवासमा घर भाडामा लिने र दिनेको संख्या उच्च रहेको छ । यस वाहेक फलेवास, महाशीला र विहादीमा न्यून मात्रामा घर भाडामा लिनेदिने गरेको पाइन्छ ।

गृहको निर्देशन सँगै जिल्लाका सातवटै स्थानीय तहले सूचना जारी गरी विवरण उपलव्ध गराउन सम्वन्धित घरधनी र घर भाडामा लिनेहरुलाई आग्रह गरेको छ । एक/दुई सातासम्म सूचना जारी गर्ने र त्यसपछि पनि उपलव्ध गराउन नआए घरदैलो नै गरेर विवरण संकलन गर्ने योजना अघि सारिएको प्रजिअ नेपालले बताउनुभयो ।

खासगरी घरधनीको नाम थर, ठेगाना, सम्पर्क नम्वर, घरधनीको परिचय खुल्ने कागज, घर भाडामा लिए÷दिएको मिति, घरभाडामा बस्ने, व्यक्ति संस्था वा कार्यालयको नाम, सम्पर्क नम्वर, घरभाडामा बस्नुको प्रयोजन तथटा घरभाडामा बस्न छाडेको मिति जस्ता विवरण सम्वन्धित निकायमा पेश गर्नुपर्ने प्रावधान तोकिएको छ ।

सवै सरकारी निकायमा फारमको नमुना पठाईसकिएको बताउँदै प्रजिअ नेपालले सवैले यो अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । कार्यालयका प्रमुख र सुरक्षा प्रमुखहरुको वैठकले पनि गृहको उक्त निर्देशनलाई प्रभावकारी रुपमा संचालन गर्ने निर्णय गरिसकेको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गत मंगलवार गृह मन्त्रालयमा बसेको बैठकमा शहरी क्षेत्रमा आपराधिक गतिविधि बढेको विषयमा सरकारको ध्यानाकर्षण भएको भन्दै विवरण संकलनका लागि निर्देशन दिएको थियो ।

‘सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको र पछिल्लो समय गतिविधि बढेको विषयमा छलफल भएको थियो । उक्त विवरण घरभेटी स्वयंले वा भाडामा बस्नेहरुले दिन पनि सक्ने बताईएको छ ।

पर्वतमा झण्डै १० हजारको हाराहारीमा भाडामा बस्ने परिवारहरु भएको आँकलन गरिएको छ । अहिलेसम्म घरभाडामा बस्नेको संख्या र दिनेको संख्या समेत यकिन नभएका बेला अब यसको यकिन तथ्यांक संकलन समेत हुने भएको छ भने घर वाहल कर लगायत राज्यको राजश्व संकलनमा समेत सघाउ पुग्ने स्थानीय तहहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्