नक्कली नागरिकता लिएर राहदानी



शिक्षा पन्त, लमजुङ।

जिल्ला प्रशासन कार्यालय लमजुङबाट एक युवकले राहदानी बनाउन नक्कली नागरिकता पेस गरेको तथ्य खुलेको छ।राहदानी बनाउन आएका साविक मालिङ गाविस ६ ठेगना उल्लेख गरिएको सुवास लामालाई प्रशासनले नियन्त्रणमा लिएको हो। लामाले पेस गरेको नागरिकता नक्कली भेटिएपछि अनुसन्धानका लागि प्रशासनले युवकलाई प्रहरी नियन्त्रणमा लिएको छ।

लामाले पेस गरेको नागरिकता नक्कली भेटिएपछि अनुसन्धानका लागि प्रशासनले युवकलाई प्रहरी नियन्त्रणमा लिएको छ

राहदानीका लागि आवश्यक कागजात पेस गर्दा नागरिकता शंकास्पद देखिएपछि अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो।प्रारम्भिक अनुसन्धानबाट लामाको नाममा रहेको नागरिकता नक्कली भेटिएको र नागरिकतासहित युवकलाई नियन्त्रणमा लिइएको प्रजिअ खड्काको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी गरिएको देखिएको उक्त नागरिकतामा प्रमाणपत्रको नम्बर ४५ हुनुपर्नेमा ४४ उल्लेख छ। उक्त कोड गोरखा जिल्लाको कोड हो।२०७४ साल वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनपछि तत्कालीन मालिङ गाविस क्होलासोंथर गाउँपालिका २ भएको छ।

२०७४ पुस १७ गते जारि गरिएको उक्त नक्कली नागरिकतामा मालिङ ६ उल्लेख छ। नागरिकता जारी गर्ने व्यक्तिको ठाउँमा प्रशासकिय अधिकृत डिल्लीप्रसाद श्रेष्ठ रहेको भेटिएको प्रशासनले जनाएको छ।तर जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको दरबन्दी र उक्त पद नहुने प्रजिअ खड्काको भनाइ छ। श्रेष्ठ तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय गोरखामा कार्यरत रहेको खुलेको छ।

नागरिकतामा प्रशासन कार्यालयको छाप अशुद्ध भएकाले नक्कली छाप हुन सक्ने प्रशासनले जनाएको छ। प्रजिअ खड्काले नागरिकतामा ६ वटा गलत कुरा भेटेएपछि अनुसन्धान थालिएको हो।बिहीबार जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि कागजपत्र पेस गरेका लामालाई प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख रवीन्द्रमान गुरुङले लामालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताउनुभयो।
उहाँले भन्नुभयो लामालाई सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिएको छ। लिखतसम्बन्धी कसुरअन्र्तगत किर्तेमा मुद्दा चल्ने र आइतबार उक्त मुद्दा अदालतमा दर्ता भएको डीएसपी गुरुङले बताउनुभयो।

उहाँका अनुसार युवक भारतको सिलोङमा भर्ती हुन गएको र भर्ती हुने क्रममा कागजपत्र बुझाएपछि उक्त नागरिकता फिर्ता गरिएको डीएसपी गुरुङको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्