नागरिक अधिकार कुण्ठित पार्न खोजिएको भन्दै कांग्रेसको विरोध



नेपाल समाचारपत्र, भक्तपुर।

नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले भक्तपुरका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई सचेत गराउने उद्देश्यले ज्ञापनपत्र बुझाएको छ।भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको नेतृत्वमा प्रदेश सभा सांसद कृष्ण्लाल भँडेल र रजनी जोन्छे लगायत जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा दुधपाटीबाट नारा जुलुश सहित जिल्ला प्रशासन कार्यालयपुगेको थियो।प्रसाशनमा पुगी विरोधपत्र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई बुझाइएको थियो।

काँग्रेसले सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोधमा विधेयक सच्याउन माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्र बुझाएपछि आयोजित सभामा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नागरिक अधिकार र नागरिक स्वतन्त्रता विरुद्ध सरकारले विधेयक ल्याएको र नागरिक स्वतन्त्रताविना लोकतन्त्र रहन नसक्ने भएकाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले विधेयकको विरोध गरेको बताउनुभयो।

विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले नागरिक अधिकार रक्षाकालागि विधेयकको विरोध गरिएको बताउ”दै पार्टी सभापति थापाले विधेयक नेपाली कांग्रेसले कुनै पनि हालतमा पास हुन नदिने दाबी गर्नुभयो।

सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्ने सम्म व्यवस्थाको कांग्रेसले विरोध गरेको छ। यस्तै विशेष सेवाविधेयकमा अदालतको अनुमति नलिई फोन ट्यापिङ गर्नसक्ने लगायतका प्रावधान सच्याउनु पर्ने कांग्रेसको माग छ।

कांग्रेसले नेपाल विशेष सेवा गठन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको पनि विरोध गरेको छ।सो क्रममा नगर समितिका सभापति, पदाधिकारी तथा सदस्यहरू, वडा सभापति, पदाधिकारी तथा सदस्यहरू र क्रियाशील सदस्य र कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्