मोडर्न इन्डियन स्कुलमा डोजर चलेपछि…



नेपाल समाचारपत्र, काठमाडौं।

कीर्तिपुर नगरपालिका–६ स्थित चोभारमा रहेको मोडर्न इन्डियन स्कुल ट्रस्टको खेलकुद मैदान र पार्किङ स्थल बागमती नदीको बहाव क्षेत्रभित्र परेको पाइएपछि त्यहाँ डोजर चलाइएको छ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीको बहाव क्षेत्रलाई फर्काउन खेलमैदानमा डोजर चलाइएको हो।
समितिले हाल उक्त स्थानमा पर्खाल लगाइरहेको छ। तीन हप्तादेखि समितिले उक्त स्कुल हाताको खेल मैदानमा यीे काम गरिरहेको समितिका कार्यवाहक आयोजना प्रमुख लीला ढकालले बताउनुभयो।

‘स्कुलको खेलमैदान र पार्किङ स्थल नदीको बहाव क्षेत्रमै परेको पाइएपछि हामीले डोजर चलाई काम गर्न थालेका हौँ’ –उहाँले भन्नुभयो।
नदीको बहाव क्षेत्र ८० मिटर हो भने यसको दायाँबायाँ २०÷२० मिटर भाग खाली छोड्नुपर्ने मापदण्ड छ।

स्कुलको खेलमैदानको आधा भाग नदीको बहावभित्र र छोड्नुपर्ने मापदण्डभित्र परेपछि स्कुलको खेलमैदान र पार्किङ स्थल मासिने भएको छ।स्कुलको दुई हजारको हाराहारीको विद्यार्थी खेल्ने खेलमैदानमा फुटबल, क्रिकेटलगायतको खेल खेलाइन्थ्यो।

स्कुलको खेलमैदानलगायतको केही संरचना सार्वजनिक र त्यो पनि नदीको बहाव क्षेत्रभित्र परेकोले अतिक्रमित क्षेत्रलाई हटाउन वडाले सहयोग गरेको वडा–६ का अध्यक्ष नुच्छेबहादुर महर्जनले बताउनुभयो।आफ्नो खेलमैदान गुम्ने भएपछि स्कुल भने त्यसको विरुद्ध अदालत पुगेको छ।

यो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। स्कुलले २०५५ सालमा ५० वर्षसम्मका लागि वडासँग खेल मैदान र पार्किङ रहेको क्षेत्र करारमा लिएको थियो।

करारको अवधि नसकिएको र यसबीचमा खेर गएको जग्गालाई सम्म्याई नदी नियन्त्रण गरी विद्यार्थीका लागि मैदान बनाएको स्कुल प्रशासनले जनाएको छ।

स्कुलका प्रमुख प्रशासकीय अधिकृत दीपक कर्णले ५० वर्षका लागि लिएको करारको अवस्था के रहने भन्दै अदालत गएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्