बलिदानी दिवस मनाइयो



लहान, (नेस) ।

१३औं बलिदानीको अवसरमा मधेशवादी दलले मधेसका शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाएका छन्।
बलिदानी दिवसको अवसरमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवसहितका नेताहरुले सिरहाको लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको शालिकमा माल्यार्पण गरेका छन्।

अध्यक्ष यादव र मन्त्री यादवले शहीदको सपना पुरा गर्न अझै संघर्षरत रहेको बताउँदै उनीहरुले शहीदको सपना पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छ्न। त्यस्तै ,प्रदेश २ सरकारले वीरगन्जमा आज शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम गरेका छन्।

राजपा नेपालले भने बलिदानी दिवसको अवसरमा लहानमा प्रभातफेरी कार्यक्रम गरेको छ। त्यस्तै वलिदानी दिवसको अवसरमा आज डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुर गाउँपालिकामा कार्यक्रमको आयोजना गरेको छ।

प्रदेश २ सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक विदासमेत दिएको थियो। २०६३ साल माघ ५ गते भएको मधेस आन्दोलनका क्रममा शहीद भएका सिरहा मझौराका विद्यार्थी रमेश महतोको सम्झनामा हरेक वर्ष मधेशवादी दलले माघ ५ गते लहानमा बलिदानी दिवस मनाउने गर्छ।

प्रतिक्रिया दिनुहोस्