यतीले भन्दा ५० करोड बढी दिने सांसदको प्रस्ताव



काठमाडौं, (नेस)।

राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभा सदस्यले यती होल्डिङ्स प्र्रालिले दिएको भन्दा ५० करोड बढी दिने प्रस्ताव गरेका छन्। नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिजबापत यती होल्डिङ्स प्रालिले दिएभन्दा ५० करोड बढी तिर्ने भन्दै भाडामा आफूलाई दिन सरकारसमक्ष प्रस्ताव गर्नुभएको हो।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले सरकारका मन्त्री, सभाध्यक्ष र राष्ट्रियसभाका सदस्यहरुलाई साक्षी राखेर सरकारलाई ५० करोड बढी दिने प्रस्ताव गर्नुभयो। ‘सरकारलाई प्रस्ताव राख्न चाहन्छु जति पैसामा दिएको छ त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु।

सरकार दिन तयार छ मलाई ? छैन, किन दिँदैन भने त्यहाँ ५० करोडभन्दा बढीको अनियमितता भएको छ’ –उहाँले भन्नुभयो। समय नसकिँदै नेपाल ट्रस्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दावी गर्दै उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री सिंहदरबार आउन छोडनु भो, सिंहदरबारको आवश्यता परेन भने सिंहदरबारमा ताला लगाउने हो कि ?’

नेपाल विशेष सेवासम्बन्धी विधेयकले नागरिकको व्यक्तिगत फोन ट्याब गर्न समेत पाउने गरी ल्याइएको विधेयक स्वीकार गर्न सकिने बताउनुभयो।

राष्ट्रियसभा सदस्य राजकुमार कुँवरले १० वर्षे सशस्त्र द्वन्द्वपछि त्यसकै आडमा सरकारमा पुगेकाहरुले तत्कालीन द्वन्द्वमा योगदान दिएका घाइते योद्धालाई बेवास्ता गर्ने काम भएको गुनासो गर्नुभयो।

राष्ट्रियसभा सदस्य कोमल ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसनका बारेमा दलहरुबाटै स्पष्ट विरोध नआएको र यसबारे भ्रम फैलाउने काम भएको भन्दै यसतर्फ सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्