युवा सक्रियता बढाउन स्थानीय तहको भूमिका बारे चर्चा



नेपाल समाचारपत्र, ललितपुर।

स्थानीय तहले युवा परिचालनको महत्व र भूमिकालाई आत्मसात् गरेर त्यसलाई टेवा दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।ललितपुर महानगरपालिका–११ युवा शिक्षा तथा खेलकुद समितिले शनिबार कार्यविनायकमा आयोजना गरेको स्थानीय युवा परिचालनको चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो विषयमा जोड दिएका हुन्।

ललितपुरको ठोस सामाजिक, सांस्कृतिक, धार्मिक क्षेत्रमा युवावर्गको सक्रियता र भूमिका उल्लेख्य रहे पनि त्यसलाई स्थानीय तहबाट थप टेवा दिन नसकिरहेको धारणा सम्बद्ध पक्षले सार्वजनिक गर्दै आएको छ।

यस सन्दर्भमा स्थानीय तहले युवा परिचालन थप टेवा पुर्याउनुपर्ने मान्यताका साथ सो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका वडा सदस्य एवं कार्यक्रम संयोजक कृष्ण महर्जनले बताउनुभयो।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव एवं कार्यक्रमका सहजकर्ता सुनील महर्जनले ललितपुरको जात्रा, पर्व, बुद्ध जयन्ती, मतया पर्वलगायत सांस्कृतिक, लोककल्याणकारी कार्य र अन्य रचनात्मक गतिविधिमा भइरहेको युवावर्गको सक्रियता र त्यसको महत्वलाई राष्ट्रिय युवा नीति २०७२ युथभिजन २०२५ को सन्दर्भमा मूल्याकंन गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तो मूल्याकंनले युवा परिचालनको अवस्था, अब गर्नुपर्ने कार्य बोध हुने पनि सहजकर्ता महर्जनको भनाइ रहेको छ। उहाँले युवावर्गको परिचालनको गति बढाउन स्रोतको व्यवस्थापन, सहभागिता बढाउन स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्ने खाँचो पनि औंल्याउनुभयो।

सोही विषयमा केन्द्रित गर्दै संविधानसभा सदस्य सुशीला नेपालले युवा परिचालनलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राजनीतिमा युवावर्गको सक्रियता बढाउनुपर्ने पनि नेपालको जोड रहेको छ।

कार्यक्रममा नेकपा (नेकपा) का ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले तत्काल फाइदा देख्न, कामलाई सानो भनेर हेप्ने र रातारात धनी बन्ने सोचबाट मुक्त भई काम सक्ने युवावर्गले आफ्नो लक्ष्य भेटाउने विश्वास व्यक्त गर्नुभयो।

युवावर्ग परिचालनबिना समाजको कुनै पनि पक्षको विकास नहुने पनि अध्यक्ष व्यञ्जनकारको भनाइ रहेको छ।सो अवसरमा महानगरपालिका–११ का वडाअध्यक्ष इन्द्रमान महर्जनले युवा गतिविधिलाई प्रोत्साहित गर्न वडाबाट बजेट विनियोजित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको दोस्रो सत्रमा अधिवक्ता सुलोचना वज्राचार्यले कानुनी साक्षरताबारे प्रशिक्षण दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्