गढीमाई मेलामा चोरी गर्न आएका ४ भारतीय पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

चोरी गर्न बाराको गढीमाई मेलामा आएका केही भारतीय पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कबहीगोठ बारा तथा सशस्त्र प्रहरी बल बीओपी कबहीगोठ बाराबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले एक महिलासहित ४ भारतीयलाई पक्राउ गरेको हो ।

बाराको सुवर्ण गापा–३, सन्तगञ्जस्थित सडकमा गढीमाई मेलाबाट फकिँदै गरेको सवारीसाधन चेक गर्दा बीआर २४ पी १९५८ नम्बर बलेरो पिकप गाडीको हुडमा लुकाइराखेको अबस्थामा विभिन्न कम्पनीका १३ थान मोबाइल बरामद गरिएको हो ।

महिलाले नाक र कानमा लगाउने पहेंलो धातुका साना फुली तथा रिङसमेत फेला परेको हुँदा गाडीका बालबालिकासमेत २२ जनामध्ये ४ जनालाई नियन्त्रणमा लिएर म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको र १८ जनालाई आवश्यक सोधपुछ र छानबिन गरी जिम्मा/जमानीमा छाडिएको बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले बताउनुभयो ।

म्याद थप गरिएकामा भारतको बिहार राज्य छपरा जिल्ला ग्राम माठिया वडा नम्बर–९ बस्ने जीतेन्द्र तिवारी, गीता देवी, आकाशकुमार साह र गोलु तिवारी छन् ।

प्रतिक्रिया दिनुहोस्