कोरियन पोल्ट्री विशेषज्ञ हेटौंडामा



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुर उद्योग वाणिज्य संघको निमन्त्रणामा दक्षिण कोरियाको मल्टिनेसनल पोल्ट्री कम्पनी हारिम पोल्ट्री फार्मबाट विशेषज्ञ टोली नेपाल आएको छ ।

नेपाल आएको टोलीले संघ अध्यक्ष कृष्ण कटुवाल र संघको कृषि समिति संयोजक कृष्ण ढुंगानाको संयोजनमा काठमाडौंमा पोल्ट्री महासंघका प्रतिनिधि र बेलारुसका महावाणिज्यदुत तथा लगानीकर्ता अजेयराज सुमार्गीलगायतसँगको छलफलपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र संघमा छलफल गरेको छ ।

छलफलमा यहाँका इच्छुक किसान तथा लगानीकर्ताले आवश्यक महसुस गरे कोरियामै २ देखि ३ महिनासम्म तालिम प्रदान गर्न पनि सकिने हारिम पोल्ट्री फार्मका भाइस प्रेसिडेन्ड जुङ मुन सङ्गले बताउनुभयो ।

हारिम पोल्ट्री फार्मले नेपाललाई मिल्दो पोल्ट्री फार्म भियतनाममा शाखाको रुपमा सञ्चालन गरेकोले त्यहाँ गएर पनि अध्ययन/अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । विशेषज्ञ टोली ल्याएर कोरियाबाट नेपाल ल्याउन एनआरएन कोरिया अध्यक्ष यज्ञराज सुबेदीले विशेष पहल गर्नुभएको थियो । उहाँकै नेतृत्वमा ५ सदस्यीय टोली नेपाल आएको हो ।

कोरियन टोलीलाई हेटौंडामा स्वागतसहित छलफल गरिएको थियो । संघ अध्यक्ष कटुवालले भ्रमणले नेपाली कुखुरा व्यबसायीलाई प्राविधिक ज्ञान हासिल गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।

कोरियामा कुखुराको मासुले अन्य बंगुर तथा बिफभन्दा पनि ठूलो हिस्सा ओगटेको छलफलमा बताइएको थियो । आफ्नो नेपाल भ्रमणको अनुभवसहित कोेरियन अनुभवले कुखुरा व्यबसायीलाई राम्रोसँग सिक्ने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो । कोरियामा रहेका नेपालीलाई कुखुरापालन तथा बंगुरपालन गर्न सिकाइरहेको बताउँदै कुखुरा व्यबसायलाई माथि उठाउन ज्ञान हस्तान्तरणको कार्य गर्ने टोलीका सदस्यहरुले बताएका थिए ।

प्राविधिक सेवा मेनेजर ली कान्ग ह्युनले हरिमको भिडियो प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कम्पनी र व्यापारबारे विस्तृत बताइएको थियो । उहाँहरुले करिब ३० वर्ष पहिले कोरियामा पनि हाल नेपालको जस्तै पोल्ट्रीको अबस्था रहेको बताउनुभयो ।

पहिले किसान आफैंले दाना किनेर खुवाउनुपर्ने र बजारमा लगेर बिक्री गर्नुपर्ने अबस्था रहेकोमा हाल हारिमले नै कुखुरा किनिदिने भएकोले किसानलाई बजारमा लगेर बिक्री गर्नुपर्ने झन्झट नरहेको बताउनुभयो ।

उहाँले दानालगायत अन्य सहायक काम पनि हारिम कम्पनीले नै गर्ने हँुदा किसानलाई फार्ममा मात्र काम गरे पुग्ने र हाल एक किसानले वार्षिक २ करोड नेपाली रकम बराबर आम्दानी गर्ने गरेको बताउँदै किसानको आम्दानी वृद्धि गर्ने कार्य कम्पनीको गौरवको विषय रहेको बताउनुभयो ।

अमेरिकाको एलेन कम्पनीलाई २०११ मा किनेर त्यहाँ पनि पोल्ट्री व्यबसाय गरिरहेको बताउँदै १.५ किलो दानाबाट १ किलो कुखुरा उत्पादन गर्न सकेको पनि उहाँले बताउनुभयो । हाल कोरियामा ९७ प्रतिशत कुखुरा किसानबाट खरिद गरी प्रोसेस गरेर मार्केटमा बिक्री गर्ने गरेको र त्यसका लागि ६ सय ५० वटा फार्मबाट नियमित कुखुरा खरिद गर्ने गरेको जानकारी उहाँले दिनुभयो ।

छलफलमा मकवानपुर कुखुरा व्यबसायी संघ अध्यक्ष तथा संघ कार्यसमिति सदस्य राजु अधिकारीले फ्रोजन तथा प्याकेजिङ गरिएका मासुको कारोबार नेपालमा प्रचलनमा नरहेको बताउनुभयो । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ५६ वटा अण्डा र १२ किलो मासु उपभोग गर्ने अनुमानित आँकडा रहेको उहाँले प्रस्तुत गर्दा कोरियामा भने प्रतिव्यक्ति प्रतिवर्ष ३ सय वटा अण्डा र १५ किलो मासु उपभोग गर्ने गरेको तथ्यांक रहेको सङ्गले बताउनुभयो ।

छलफलमा पोल्ट्री व्यबसायीहरुले दानाको लागत घटाउने विषयमा राखेको जवाफमा हरिमका सङ्गले गुणस्तरीय चल्ला तथा आफैंले दाना उत्पादन गर्न सके दानाको लागत घटाउन सकिने बताउनुभयो । दानाको कच्चापदार्थको गुणस्तरको प्राविधिक परीक्षणपश्चात् मात्र कसरी दाना उत्पादन गर्ने भनेर भन्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा संघ पूर्वअध्यक्ष अरुणराज सुमार्गी, एनआरएनए कोरिया अध्यक्ष सुबेदी, एसियन फोरम नेपालका सिद्धि बराललगायत मउवा संघका पदाधिकारी, कार्यसमिति सदस्य र पोल्ट्री व्यबसायी, किसान, गाँउपालिकाका प्रतिनिधि तथा पशु चिकित्सकको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्