पञ्च र श्रवणको धुनले दर्शक लठ्ठ



अढाइ दशकदेखि जापानमा रही चौतारी समूहमार्फत नेपाली धुन प्रस्तुत गरेर जापानीलाई मोहित तुल्याउँदै आएका पञ्च लामा र श्रवण लामाले ललितपुरमा आफ्ना धुनबाट दर्शकको मन जितेका छन्।

ललितपुरको जाउलाखेलस्थित डीएभी स्कुलमा शनिबार साँझ यी दाजुभाइले नेपाली मौलिक धुनको सांगीतिक कार्यक्रम चौतारी साँझ प्रस्तुत गरेर संगीतप्रेमीलाई मोहित तुल्याएका हुन्।

पञ्च लामाको ३५ वर्षीय सांगीतिक यात्राका बारेमा लघु वृत्तचित्र प्रस्तुत गेर आरम्भ गरिएको करिब २ घन्टाको कार्यक्रममा पञ्चले आफैं सिर्जना गरेको १६ सांगीतिक धुन प्रस्तुत गरे। उनले सिर्जनाको कथा, धुनको मौलिकता र आफ्नो सांगीतिक जीवनको आरोह–अवरोहका प्रसंगसहित धुन प्रस्तुत गरेका थिए।

सांगीतिक साँझमा पञ्चलाई ब्यान्डका श्रवण लामाले तवला, जापानी कलाकार तेराकादो मित्सुगुले गिटार, अनुप दासले बेस गिटार र शम्भु बानियाँले पर्कसनमा साथ दिएका थिए। गोरखाको मनकामना आसपासको धुनलाई समेटेर तयार गरिएको मनकामना धुनबाट पञ्चले मौलिक धुन साँझ शुरुआत गरेका थिए।

त्यसपछि उनले सपनाको जँगलर सिन्धुपाल्चोकको सेलो धुन प्रस्तुत गरेका थिए।सोही क्रममा पञ्चले प्रस्तुत गरेको धुन उज्यालोतिरको यात्राले नेपालदेखि जापानसम्मको उनको सांगीतिक यात्रा र टोक्यो साँझ धुनले नेपाल र जापानी लोकधुनको फ्युजन स्वाद दर्शाएको थियो।

रेडियो नेपालका लागि आफूले अढाइ दशकअघि सिर्जना गरेको वनचरी धुन र झ्याउरे धुन पनि पञ्चले कार्यक्रममा प्रस्तुत गरे। उनले आमाको प्राथना, सुन्दर नेपाल, नाच्ने चरी धुन पनि प्रस्तुत गरे। कार्यक्रममा पञ्चसँग बाँकी चार कलाकारले बाद्यबादनमा गरेको जुगलबन्दीमा दर्शक निकै रमाए।

कार्यक्रमको उत्तराद्र्धमा उनले ए कान्छा, हिमालको, आकाश मार्ग, लाम्बडा जस्ता धुन प्रस्तुत गरे। उनको नेपालमा यो ११औं चौतारी साँझ हो। कार्यक्रम संयोजक एवं सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाले स्वागत मन्तव्यसँगै पञ्च लामा र श्रवण लामाको सांगीतिक यात्राबारे जानकारी गराएका थिए।

कार्यक्रममा पञ्चले चेतना सन्देश नेपालद्वारा सर्लाहीको घुर्कौलीमा सञ्चालित द्वन्द्वपीडित बालगृहका लागि ११ लाख २० हजार रुपियाँको चेक हस्तान्तरण गरे।

प्रतिक्रिया दिनुहोस्