प्रोफाइल बढाउने खेल



‘विष पिउँ कि पार्टी छाडौ’–नेकपा नेता राजेन्द्र पाण्डे।
‘सरकार छोडेर आन्दोलन गरौझैं लाग्छ’–सञ्चार मन्त्री बाँस्कोटा।

हिउँदे झरीले अधिकांश भेगको जनजिवन प्रभावित भइरहँदा सत्तारुढ पार्टी नेकपाका चल्तीका नेताको पछिल्लो तर्कले मुलुकको राजनीतिक राप/ताप बढेको बुझ्न गाह्रो छैन। प्रदेश ३को केन्द्र विवादमा आफ्नो बोली नबिक्ने निधो भएसी नेता पाण्डे यस्तै यस्तै विकल्प खोज्न थाल्या छन्।

पाण्डे जस्ता सज्जनले यस्ता विकल्प रोज्ने दिन आएसी मध्य हिउँदको कठ्याङ्ग्रिदो ठिही यसै ओझेल पर्दो रै’छ। शितल निवास, वालुवाटार, खमुलटारतिर चाहिँ गर्मी कति चढ्या छ कुन्नी ? पार्टीले प्रदेश हेडक्वाटर र प्रदेश नाम यही हुनुपर्छ भनेर उर्दी जारी गरेसी बरा पाण्डे राम्रै बर्बराएका छन्।

पार्टीको उर्दीले हेडेक भएका उनी विष चाहिँ कुन्नी खैं के के राम्रै पिउँदै होलान्।जयजयकार कमी भएर हो कि क्या हो, मन्त्री बाँस्कोटा आन्दोलनमा उत्रिने कुरा गर्छन्। पत्याउने कुरो गर्नु नि, नाङ्लो ठटाएर हात्ति तर्साउने कुरा गर्छन्।

‘हाम्लाई हेप्नी, हेप्नी पनि हद हुन्छ नि’ भन्ने लाग्छ भने तत्काल राजिनाम ठोकेर देखाऊ, आन्दोलनमा आऊ। हैन भने धेर धाक धम्की देखाएर चर्चा नबटुलम्। घुक्र्याउने, ढाट्ने, छल्ने, थर्काउने जस्ता कलामा पोख्त नभएसम्म राजनीतिक प्रोफाइल बढ्दैन भन्छन्, त्यहि होला अहिलेको खेल।

प्रतिक्रिया दिनुहोस्