संवृद्धिको चिरफार



नुरेश्वर अधिकारी
अमेरिका

तिम्रो संवृद्धि खै काँछ देखिन्न किन हो यता
घरमै म त छु मस्त नजानेर गएँ कता।

धन्दाउद्योग नै बेच्यौ उब्जाउ भूमि नि दियौ
नानी पानी बेटीचेली लक्का जवान नै दियौ।।

दियौ दियौ केही छैन पखालेरै सबै दियौ
उचालेर लियौं खाली स्वाभिमान पनि दियौ।
कमाउने कुनै भाँडो रहेन अब आफूमा
कसरी मिल्न गो भन्छु संवृद्धि अर्थतन्त्रमा।।

ठूलो कर मिलाएर भागवण्डा भइसक्यो
नाङ्ले पसले मूर्छा छ करको दायरा बढ्यो।
भत्ता खान नपुग्ने भो आम्दानी पनि घटी
बोली मात्र त बोली हो बोलीले बढ्छ सम्पत्ति।।

रेमिट्यान्स भयो मित्र भत्ताका निम्ति सायक
नत्र तिम्रो संवृद्धि खै हुनेथ्यो मृत्यु दायक।
आम्दानी नभएरै बढिरहेछ छट्पटी
तिम्रो तथ्यांकले बोल्छ संवृद्धिले लियो गति।।

संवृद्धि मूल्यवृद्धिमा रूपान्तर भएपछि
धनाढ्य व्यक्तिको देख्छु संवृद्धि भा छ हौ अति।
प्रतिव्यक्ति भयो ऋण लाखौंको पो नजिकमा
तिम्रो तथ्यांकमा आयो संवृद्धि कसरी भन।।

प्रतिक्रिया दिनुहोस्