पञ्च र श्रवण फेरि चौतारी साँझमा



पञ्च लामा र श्रवण लामाले अढाइ दशकदेखि जापानमा रहेर चौतारी समूह (सांगीतिक समूह) स्थापना गरी आफ्नो छुट्टै पहिचान बनाएका छन्।

जापानमा नियमित नेपाली सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै आइरहेका यी दुई कलाकार यतिबेला काठमाडौमै छन्। विगतजस्तै यसपटक पनि यो जोडीले आफ्नो मौलिक धुनसहितको सांगीतिक कार्यक्रम चौतारी साँझ प्रस्तुत गर्दै छ।

यो कार्यक्रम चेतना सन्देश नेपालको आयोजनामा आगामी शनिबार जाउलाखेलस्थित डीएभी स्कुलस्थित बुद्ध हलमा २ घण्टा प्रस्तुत हुनेछ। उनीहरूलाई नेपालका चर्चित बेस गिटारवादक अनुप दास, गिटारमै जापानी कलाकार तेराकादो मित्सुगु र तालवादनमा शम्भु बानियाले साथ दिनेछन्।

यी दुईले १७ वर्षदेखि आफ्नै लगानीमा द्वन्द्वपीडित बालबालिकाका लागि सर्लाहीको घुर्कैलीमा बालगृह सञ्चालन गर्दै आएका छन्। यही सँंगीतिक कार्यक्रम २९ पुसमा द्वन्द्व बालगृह घुर्कौलीको प्रांगणमा पनि प्रस्तुत गरिने भएको छ।

यी दुईले जापानसहित करिब १५ मुलुकमा सांगीतिक कार्यक्रम गरिसकेका छन्। ‘अब नेपालको मौलिक धुनसहित यहाँका प्रकृतिक सुन्दरता, सामाजिक जनजीवन, रीतिरिवाज एवम् विविध संस्कृतिलाई सांगीतिक कार्यक्रममार्फत श्रव्यदृश्यगतरूपमा संसारमा प्रचार गर्ने अभियानमा छौं। नेपालपछि विभिन्न मुलुकमा हामी यो वर्ष जाँदै छौं।’ –यी दाजुभाइले भने।

प्रतिक्रिया दिनुहोस्