न्यायिक समितिमा उजुरी बढे



नेपाल समाचार, लमजुङ।

लमजुङको बेंसीसहर नगरपालिको न्यायिक समितिमा हालसम्म ५५ वटा उजुरी दर्ता भएका छन्। नयाँ संरचना अनुसार न्यायिक समिति बनेपछि नगरपालिकामा उजुरी पर्न थालेको हो। आर्थिक बर्ष २०७६/७७ को साउन देखि हालसम्म १३ वटा उजुरी परेका छन्। गत आर्थिक बर्ष २०७५/७६ मा ४२ वटा उजुरी दर्ता भएका थिए।

१२ वटा उजुरी मिलापत्र भएका थिए। १० वटा उजुरी सम्पर्कमा नआएको नगरपालिकाले जनाएको छ। स्थानीय तहको निर्वाचन पछाडि स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुलाई सरकारले न्यायिक समितिको संयोजकको जिम्मेवारी दिएपछि उनीहरुले न्याय सम्पादन गर्ने गरी उजुरी लिन थालेको हो।

न्यायिक समितिले दुई पक्षलाई बोलाएर आपसमा छलफल गरी मिलापत्र गरी पठाउने गर्दछन्। कतिपय उजुरी भने सम्पर्कमा नआएको नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक लक्ष्मीदेवी अधिकारीले बताउनुभयो।

नगरपालिकामा न्यायिक समितिको निर्माणअघि पनि उजुरी आउने गरेको थियो। ती उजुरीलाई छलफल गरि पठाउने गरिएको थियो। नगरपालिकाको न्यायिक समितिमा घरेलु हिंसा, महिला हिंसा, लेनदेन, झगडा, घर जग्गा बाटो, सार्वजानिक स्थल मिचिएका लगायतका विषयमा उजुरी परेका छन्।

सम्बन्ध विच्छेदका उजुरी नगरपालिकामा पर्ने गरेपनि नलिएको तर, मिलापत्र गरी पठाउने गरेको उहाँले उहाँले बताउनुभयो। नगरपालिकाको न्यायिक समितिले हालसम्म ३६ वटा उजुरीको मिलापत्र गरेको छ।

यसबाहेक ३ वटा सम्बन्ध विच्छेदका उजुरीलाई मिलाएर पठाएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा रहेका केही उजुरीहरु उजुरीकर्ता नआउँदा त्यसै थन्किएका र केही उजुरीहरु अनुगमन र अध्ययनका क्रममा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्