२ हजार ३ सय छाउगोठ भत्काइए



काठमाडौं, (नेस)।

सामाजिक कुरीतिको रूपमा रहेको छाउपडी प्रथाको कारण चार वर्षको अवधिमा ६ जना महिलाको अकालमा ज्यान गएको र अनेकौ यौनहिंसामा परेको पृष्ठभूमि देखाउँदै नेपाल प्रहरीले २३ सय छाउगोठ भत्काएको छ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रले दैलेखमा १, बाजुरमा ३ र अछाममा २ जनाको छाउपडी प्रथाकै कारण निधन भएको र छाउगोठमा बस्दा सर्पले डसेर र आगो लागेरसमेत महिलाहरूको निधन भएको जानकारी दिनुभयो।

छाउपडी प्रथालाई निरन्तरता दिनेविरुद्ध प्रहरीले चार वर्षको अवधिमा ८ जनामाथि मुद्दा चलाएको छ। छाउगोठमा बसेकै कारण दुई वटा जबरजस्ती करणीको घटनासमेत भएको थियो।

प्रहरीले छाउगोठमा बसिरहेको अवस्थामा डोटीमा एक महिलामाथि जबरजस्ती करणीको घटनमा संलग्न व्यक्तिमाथि जबरजस्ती उद्योग अन्तर्गत प्रहरीले मुद्दा चलाएको थियो।

सरकारले छाउप्रथा उन्मूलनको लागि अहिले धमाधम छाउगोठ भत्काउने अभियानलाई तीब्रता दिएको छ। प्रवक्ता क्षेत्रीले अभियान सुरु भएको यस अवधिमा मात्र २२ सय ८ वटा छाउगोठ तथा टहरा भत्काइएको नेपाल समाचारपत्रलाई बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्