डीएभी कलेजका १०३ विद्यार्थी दीक्षित 



डीएभी सुशील केडिया विश्व भारती उच्च माद्यामिक विद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ। आफ्नो कलेजबाट बीबीए र बीबीएस अध्ययन सकेका विद्यार्थीलाई दीक्षित गर्दै कलेजले उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गरेको हो।
कलेजका अध्यक्ष अनिल केडियाको सभापतित्वमा भएको समारोहमा ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिले अध्ययनकालका आफ्ना अनुभव सुनाउँदै विद्यार्थीलाई उत्प्रेरणा दिने मन्तव्य राख्नुभएको थियो।
उहाँले नेपालको भविष्य विद्यार्थी र युवाको काँधमा भएको बताउँदै देशमा धेरै कुराको सम्भावना रहेको धारणा राख्नुभएको थियो।
डीएभी कलेजबाट पढेर दक्ष हुन पाउनु भाग्यको कुरा भएको बताउँदै सौरभ ज्योतिले पढाइमात्र सबैभन्दा महत्वपूर्ण नभएर योसँगै सीप र व्यवहारिक ज्ञान पनि एकदम महत्वपूर्ण भएको बताउनुभयो।
उहाँले द्वन्द्वकालको बीचमा नेपालमा केही गर्ने सोचका साथ देश फर्किएको बताउँदै अहिले त देशमा हरेक क्षेत्रमा सम्भावना भएको र त्यति नै चुनौतीसमेत भएकाले देशमै केही गर्न विद्यार्थीलाई सुझाव दिनुभयो।
कार्यक्रममा उक्त कलेजका प्राडा मनोजकुमार चौधरी र ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले शुभकामना मन्तव्य राख्नुभएको थियो। कलेजका बीबीएतर्फका ६४ र बीबीएसतर्फका ३९ जना गरी १ सय ३ जना विद्यार्थी दीक्षित भएका थिए।
उक्त समारोहमा कलेज टप हुन सफल बीबीएतर्फकी विद्यार्थी प्रिया सुनुवारलाई गोल्ड मेडल र बीबीएसतर्फकी विद्यार्थी कल्याणी कुँवरलाई शैक्षिक उत्कृष्टता अवार्डले सम्मान गरिएको थियो।
दुवै विद्यार्थीले आ–आफ्नो अनुभव व्यक्त गरेका थिए। समारोहका बीच दीक्षित विद्यार्थी र अतिथिहरूलाई मायाँको चिनोसहित सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्