छोरी/बुहारीलाई करोड छात्रवृत्ति



रोशन पराजुली
छोरी पढाउन कुनै समय घर–घरमा महाभारत नै चल्थ्यो। त्यसमाथि बुहारी पढाउने त सोच्न पनि सकिने अवस्था थिएन। छोरी पढ्न पठाउनुभन्दा पनि परिवारका सदस्यले कहिले पैसा छैन त कहिले विवाह गरेर जाने जात के पढ्न पठाउनु भन्नेसमेत गर्दथे।

समय परिवर्तन भएसँगै र सरकारले ल्याएका विभिन्न नीतिगत तथा विभिन्न विद्यालयमा छोरीलाई दिइने कोसेलीको  नाममा छोरीको पढ्ने लहर चल्न थाल्यो। र, परिवारले पनि छोरीलाई पढ्न पठाउन थाले। विशेष गरी सरकारको पहलमा यस्ता कदमहरू उठे।

 प्राविधिक तथा व्यावसायिक (टीईभीटी) तर्फ स्नातकोत्तरका लागि ५ कोटामा १ लाख ७६ हजार रुपियाँका दरले छात्रवृत्ति उपलब्ध गराइनेछ। विज्ञानतर्फ स्नातकोत्तरका लागि १० कोटामा ५२ हजार रुपियाँका दरले र विज्ञानबाहेक अन्य विषयमा स्नातकोत्तरको १ सय कोटाका लागि २५ हजार रुपियाँका दरले छात्रवृत्ति दिइने उल्लेख छ। विज्ञानको स्नातकका लागि २० कोटामा ४० हजारका दरले र विज्ञानबाहेक स्नातकका लागि २ सय ६५ कोटामा २० हजारका दरले छात्रवृत्ति दिइने निर्देशनालयले जनाएको छ।
 
तर, पनि छोरी/बुहारी भएर अर्काको घरमा गएपछि पढ्ने वातावरण अहिले पनि सहज बन्न सकेको स्थिति छैन।घरको काम, छोराछोरी स्याहार्नेदेखि लिएर अनेकांै काममा घरमै अल्झिन बाध्य छन् बुहारी। यसै क्रममा शिक्षा क्षेत्रमा प्रदेश–३ सरकारले नयाँ योजना अघि सारेको छ। 

सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पढ्न छोरी/बुहारीलाई छात्रवृत्ति दिने नयाँ योजना अघि सारेको हो। योजना अघि सारिएसँगै अब छोरी/बुहारीलाई केही राहत मिल्ने देखिन्छ।
चालू आर्थिक वर्षमा बजेट विनियोजन गरी छोरी/बुहारीलाई उच्च शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराउन शिक्षा विकास निर्देशनालयलाई जिम्मा दिइएको मन्त्रालयले जनाएको छ। निर्देशनालयले सूचना जारी गरेर छात्रवृत्तिका लागि २५ पुसभित्र आवेदन आह्वान गरेको हो।

प्रदेशभित्र बसोबास गरेर स्नातक र स्नातकोत्तर पढिरहेका छोरी/बुहारीलाई छात्रवृत्ति दिइने शिक्षा विकास निर्देशनालय हेटौंडाका सूचना अधिकारी रुद्रहरि भण्डारीले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रदेशभित्र स्थायी बसोबास गरेका छोरी वा अन्यत्रबाट विवाह गरी आएका बुहारीलाई प्रमाणित प्रतिलिपिसहित आवेदन दिन आह्वान गरिएको छ।

भण्डारीका अनुसार विद्यालयस्तर वा प्रमाणपत्र तह उत्तीर्ण गरेपछि पढाइ छाड्ने महिलाको संख्या धेरै रहेको जानकारी पाइएकाले छोरी/बुहारीलाई उच्च शिक्षा हासिल गर्न सहज बनाउन शुरू गरिएको योजनालाई निरन्तररूपमा चलाइने लक्ष्य राखिएको छ।

सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको बजेटमा शिक्षा विकास निर्देशनालयले ४ सय छोरी/बुहारीका लागि १ करोड छात्रवृत्ति वितरण गर्ने जनाएको छ।

प्रदेश–३ को सामाजिक विकास मन्त्रालयले सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वितरण हुने छात्रवृत्ति विभिन्न ५ विषयमा दिने भएको छ।

उच्चशिक्षा पढ्ने प्रदेशका छोरी/बुहारीका लागि व्यवस्था गरेको छात्रवृत्ति प्राप्त गर्न योग्यता पुगेका छोरी÷बुहारीलाई निवेदन दिन शिक्षा विकास निर्देशनालयले आह्वान गरेको हो।प्राविधिक तथा व्यावसायिक (टीईभीटी) तर्फ स्नातकोत्तरका लागि ५ कोटामा १ लाख ७६ हजार रुपियाँका दरले छात्रवृत्ति उपलब्ध गराइनेछ।विज्ञानतर्फ स्नातकोत्तरका लागि १० कोटामा ५२ हजार रुपियाँका दरले र विज्ञानबाहेक अन्य विषयमा स्नातकोत्तरको १ सय कोटाका लागि २५ हजार रुपियाँका दरले छात्रवृत्ति दिइने उल्लेख छ।

विज्ञानको स्नातकका लागि २० कोटामा ४० हजारका दरले र विज्ञानबाहेक स्नातकका लागि २ सय ६५ कोटामा २० हजारका दरले छात्रवृत्ति दिइने निर्देशनालयले जनाएको छ।

प्रदेशभित्र बसोबास भएका र विवाह गरी प्रदेशभित्र आएका छात्राले शिक्षा तालिम केन्द्र धुलिखेल वा हेटौंडास्थित निर्देशनालयको कार्यालयमा आवेदन गर्न सक्ने छन्। आवेदनको साथमा शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ।

दलित, जनजाति, शहीद, बेपत्ता परिवारका विद्यार्थी भए सो सम्बन्धमा प्रमाणितपत्र, क्याम्पस भर्ना भएको रसिद र वार्षिक शुल्क किटान गरिएको पत्र, विपन्न परिवारको विद्यार्थी भए स्थानीय तहबाट प्रमाणितपत्र पनि पेस गर्नुपर्ने नियम छ।

यसअघिका तहमा छात्रवृत्ति प्राप्त गरेको भए सोको किटानीपत्र र हाल स्थायी बसोबास रहेको स्थानीय तहको पत्र पनि पेस गर्नुपर्ने हुन्छ।

विवाहिताको हकमा विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणित प्रतिलिपि पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्