लिगमा दर्शक तान्न एन्फाको योजना



काठमाडौं, (नेस)।

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दर्शकको चासो निकै कम देखिएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले दर्शकलाई आकर्षित गर्ने तयारीमा लागेको छ। मंगलबार दशरथ रंगशालामा भएको पत्रकार सम्मेलनमा एन्फाले प्रत्येक खेलमा २ सय र ५ सयको टिकट काटेर आउनेमध्येबाट गोलाप्रथाबाट भाग्यमानीदर्शक छानिने जनाइयो।

२ सय रुपियाँको टिकट काट्नेतर्फ २० भाग्यशाली दर्शकको छनोट हुनेछन्। ती दर्शकले आकर्षक पुरस्कार पाउने एन्फाले जानकारी गरायो, तर के पाइने हो त्यो भने खुलाएन। एन्फाले जनाएअनुसार ५ सय रुपियाँको टिकट काटेर फुटबल हेर्ने दर्शकका लागि भने उपहार तोकिएको छ।
५ भाग्यमानी दर्शक छनोट हुने र प्रत्येकलाई राष्ट्रिय टोलीको जर्सी दिइने जनाएको छ। यसैगरी, एन्फाले लिग सकिएपछि पूरा प्रतियोगिताभरका दर्शकको बीचमा गोलाप्रथाबाट २ सयको टिकट मध्येबाट १ र ५ सयको टिकटमध्येबाट १ गरी दुई दर्शकलाई नेपाली राष्ट्रिय टोलीसँग विदेश भ्रमणको अवसर दिने जनाएको छ।
त्यस्तै २ सयको टिकटबाट १० तथा ५ सयको टिकटबाट १५ जनालाई विश्वकप छनोटअन्तर्गत नेपाल र अस्ट्रेलियाबीच दशरथ रङ्गशालामा हुने खेलका लागि भिआइपी प्यारापिटतर्फको टिकट उपलब्ध गराउने बताइएको छ।
त्यसैगरी २ सयको टिकटबाट १० तथा ५ सयको टिकटबाट १५ गरी २५ जनाले चाइनिज ताइपेईविरुद्धको विश्वकप छनोट खेलका लागि भिआइपी प्या रापिटको टिकट पाउने एन्फाले जनाएको छ।
दुवै खेलका लागि २ सय र ५ सयको टिकटबाट ५० र ५० जना छनोट गरी साधारण प्यारापिटको टिकट उपलब्ध गराउने तथा स्कुले विद्यार्थीलाई लिगका प्रत्येक खेलमा विशेष छुटको व्यवस्था गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्