प्रेमाको स्मृतिमा प्राविधिकलाई सम्मान



नायिका जल शाहले साहित्यकार आमा प्रेमा शाहको स्मृतिमा प्राविधिकका लागि नगद राशिसहितको सम्मानको व्यवस्था गरेकी छिन्। शाहको नाममा स्थापित प्रेमा शाह प्राविधिक सम्मानबाट राजधानीमा आयोजित कार्यक्रममा दुई प्राविधिकलाई सम्मान गरिएको छ।

नेपाल चलचित्र प्राविधिक संघको संयोजनमा शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रेमा शाह स्मृतिसभामा ड्रेसम्यान तथा कला निर्देशक उद्धवराज भट्टराई (जुँगे) र प्रकाश व्यवस्थापक चन्द्रिका ठाकुरलाई जनही नगद ५१ हजार रुपियाँसहित सम्मान गरिएको छ।

नायिका जल शाहले आफ्नो साहित्यकार आमा प्रेमा शाहको दोस्रो वार्षिक पुण्यतिथिमा यो सम्मानको थालनी गरेकी हुन्। हाल उनी अमेरिकामा रहेकी छिन्।

स्मृतिसभामा निर्देशक रमेश बुढाथोकी, डा. घनश्याम खतिवडा, दयाराम दाहाल, नायक रमेश उप्रेती, प्रथम नायिका भुवन चन्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालगायतले साहित्यकार शाहको व्यक्तित्व र साहित्यिक यात्राका बारे चर्चा गरेका थिए भने प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्