फूलमानको नीरफूल फागुनमा



पत्रकार तथा फिल्म निर्देशक फूलमान वलको नीरफूल आगामी फागुन ३० गते रिलिज हुने भएको छ। गत भदौ २७ का लागि रिलिज डेट तोकिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाइका कारण फागुनमा सरेको हो।
भूकम्पका कारण बिछोडिएको एक परिवारको प्रेमकथामा आधारित फिल्म गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको छ। फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले अभिनय गरेका छन् भने अभिनेत्री रेखा विशेष भूमिकामा छिन्।

रंगकर्मी शान्ति वाइबाको यो डेब्यु फिल्म हो। दयाहाङको जोडीका रूपमा देखिन लागेकी वाइबा सेलो थिएटरकी संस्थापक हुन्। मेलिना राईको तिमीले बाटो फेर्यौ अरे गीतको किड भर्सन कभर सङ गाएर युट्युबमा चर्चा कमाएकी बाल गायिका जिग्मे छ्योइकी घिसिङ दयाहाङकी छोरीका रूपमा फिल्ममा देखिएकी छन्।

फिल्मको पटकथा निर्देशक वल स्वयं र सचिन घिमिरेले लेखेका छन् भने सचिन एसोसिएट निर्देशकका रूपमा पनि छन्। निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्पका बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए।

फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको उनले जनाए। फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन्।

निर्माताका रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, बीके श्रेष्ठलगायत छन्। प्रमोद कार्कीको छायांकन र अर्जुन पोखरेलको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्