एचआईभी संक्रमणले दिएको पीडा



डोटी, (नेस) ।

दिपायल सिलगढी नगरपालिका–४ का स्थानीय रामबहादुर कामीको उमेर विसं २०५१ सालमा १८ वर्ष पूरा भएको थियो। विपन्न परिवारका रामबहादुर कामी काम खोज्ने शिलसिलामा गाउँकै साथी भाइसँगै छिमेकी मुलुक भारतको मुम्बई शहरमा पुग्नुभयो। मुम्बईमा केही वर्ष काम गरेर घर फर्किएर घरजमसमेत गर्नुभयो।

घरजम गरेर रामबहादुर कामी फेरि मुम्बईतिरै जानुभयो। बेलामौकामा घर फर्किंदै आउनुभएका रामबहादुर कामी केही वर्ष मुम्बईमा नै बस्नुभयो। भरकरै बिहेवारी गरेका रामबहादुर कामी घरको याद भुलाउने गतिलो ठाउँ त्यहाँको बेस्यालयलाई नै बनाउनुभयो।

मुम्बैको व्यस्त शहरमा अपरिचित नारीसँग पटक पटक असुरक्षित यौन सम्पर्क गर्दा गर्दै रामबहादुर कामीले आफूलाई एचआईभी संक्रमण भएको पत्तै पाउनुभएन। मुम्बईमा संक्रमित भएका रामबहादुर कामी घर फर्किएपछि पत्नी सुस्मा कामीलाई पनि संक्रमित बनाउनुभयो।

गाउँमा हिँड्दै डुल्दै गर्नुभएकी सुस्माले आफू संक्रमित हुने कल्पनासमेत गर्नुभएको थिएन। दुई वर्ष पहिला घर्किंदो उमेर र बिगँ्रदो स्वाथ्यका बीच उपचार गराउन जिल्ला अस्पताल डोटीमा पुग्नुभएकी सुस्मा संक्रमित भएको डाक्टरले सुनाएपछि उहाँ अचम्मित मात्र होइन छाँगाबाट खसेजस्तै हुनुभयो।

सुस्माले रामबहादुरलाई पनि जिल्ला अस्पताल डोटीमै एचआईभी चेकजाँच गर्न सल्लाह दिए पनि रामबहादुर कैलालीको सेती अञ्चल अस्पतालमा गएर चेक जाँच गर्नुभयो। चेक गर्दा रामबहादुर मात्र होइन २२ वर्षीय छोरा शुभम, ८ वर्षीया छोरी रन्जितालाई पनि एचआईभी पोजेटिभ देखियो। रामबहादुरको पाँच सदस्य परिवारमा चार जना संक्रमित रहेपछि निराशा छायो।

बाँकी घरमा रहेकी बुहारी लालीलाई जिल्ला अस्पतालमा चेक गर्दा लाली पनि संक्रमित भएपछि पुरै परिवार एचआईभी संक्रमित बन्यो। पुरै घरपरिवारमा एचआईभी संक्रमण फैलिएपछि उनीहरूको खुसीका दिन एकाएक निरासामा बदलिए। जिल्लामा एचआईभी संक्रमण विशेष गरी कामको सिलसिलामा भारत जानेहरूमा बढी पाईएको र उनीहरूमार्फत बच्चा र श्रीमतिलाई समेत सर्ने गरेको स्वास्थ्यकर्मीहरूको दाबी छ।

रामबहादुरको सिंगै परिवार एचआईभी संक्रमित भएको भए पनि एआरटी परामर्श केन्द्रको सम्पर्कमा हालसम्म नरहेको जिल्ला स्वाथ्य कार्यालय डोटीका एआरटी काउन्सिलर केपी रेग्मीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘डोटी जिल्लामा संक्रमित हुनेमा बिबाहित जोडीहरू नै बढी छन् तर तिनीहरू सम्पर्कमा नै आउदैनन्।’

जिल्ला अस्पताल डोटीको पछिल्लो तथ्यांकअनुसार जिल्लाभरिमा कुल नौ सय ८० जना एचआईभी, एड्सबाट प्रभाबित रहेका छन्। जिल्लामा उक्त रोगबाट कम्तिमा पनि एक सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। डोटीमा ९ सय ८० जना एचआईभी संक्रमितमध्ये पुरुष ५ सय ७० रहेका छन् भने ३ सय ६० जना महिला रहेका छन्।

त्यसैगरी संक्रमितहरूमध्ये १४ वर्षमुनिका ५० जना बालबालिका रहेका छन्। डोटीमा एचआइभी, एड्सबाट बढी प्रभावित हुनेमा साबिकका १३ गाविस र एक नगरपालिका रहेको एचआइभी/एड्सको क्षेत्रमा काम गर्ने संस्थाहरूको तथ्यांकमा उल्लेख छ। डोटीमा हालसम्म एचआईभी कारण मृत्यु हने एक सय एक जनामा ६६ जना पुरुष र ३५ जना महिला रहेका छन्।

पुरुषहरू संक्रमित भइसकेपछि उपचार गर्नमा लापरबाही गर्ने गरेकाले पुरुषहरूको मृत्युदर बढेको जिल्ला अस्पताल डोटीका एआरटी काउन्सिलर केपी रेग्मीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘महिलाहरू समयमै उपचार गर्छन्, त्यसैले मृत्युदर पनि कम छ तर पुरुषहरू खास वास्ता गर्दैनन्, मृत्यु हुनेमा पनि पुरुषको संख्या नै धेरै छ।’

स्वास्थ्यप्रति बेवास्ता गर्ने पुरुषहरू रोग प्रतिरक्षा प्रणाली अत्यन्त न्यून भएको अवस्थामा अस्पताल आउने गरेको काउन्सिलर रेग्मीले बताउनुभयो। एचआईभी प्रभावित व्यक्तिहरूमध्ये हाल जिल्ला अस्पतालको एआरटी शाखाबाट पाँच सय १८ जनाले एआरटी प्रयोग गरिरहेका छन्।

एचआईभी, एड्स संक्रमित (प्रभावित) सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमध्ये डोटी तेस्रो जिल्लामा रहेको पाइएको छ। सुदूरपश्चिमको सबैभन्दा प्रभावित भई एआरटी औषधि प्रयोग गर्ने जिल्लामा कैलाली पर्दछ भने दोस्रोमा अछाम जिल्ला पर्दछ।

एचआईभी, एड्सबाट प्रभावित व्यक्तिहरूले अहिलेसम्म जिल्ला अस्पतालबाट मात्र एआरटी सेवा प्रयोग गरिरहेका भए पनि आगामी दिनहरूबाट जिल्लाका अन्य गाउँपालिकाका स्वास्थ्य चौकीबाट समेत एआरटी औषधि बितरण कार्य हुने जिल्ला अस्पताल डोटीका डाक्टर गिरिष अवस्थीले बताउनुभयो।

एचआईभी संक्रमित भई भारतबाट घर फर्केकासमेत उपचारपछि पुनः काम गर्न भारत जाने क्रम बढेको छ। केही एचआईभी संक्रमित एकल महिलाहरू विभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमबाट तालिम लिएर आय आर्जनमा सक्रिय हुन थालेका छन्, भने कोही समाजको डरले गाउँघरमै रोग लुकाएर बसेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्