लमजुङको मर्स्याङदी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विपद् सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ ।
माथिल्लो मर्स्याङदी (ए) जलविद्युत आयोजना सरोकार तथा सहयोग समितिको आयोजना तथा चण्डी प्रसाद गण श्रीश्वर ब्यारेक, लमजुङको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रम सरोकार तथा सहयोग समितिका अध्यक्ष नन्दराज तामाङको अध्यक्षता तथा मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले मर्स्याङदी गाउँपालिका प्राकृतिक विपद्को उच्च जोखिममा रहेको क्षेत्र भएकाले विपद् व्यवस्थापन, पूर्वतयारी तथा जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले स्थानीयवासीलाई विपद्को समयमा अपनाउनुपर्ने सावधानी र उद्धार सम्बन्धी ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मस्र्याङदी–३ को खुदी, भुलभुले र वडा नम्बर ७ ङादीमा आयोजित कार्यक्रममा चण्डी प्रसाद गणका १७ जनाको टोलीले विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास (डेमो) प्रदर्शन गरेको समितिका प्रवक्ता नवीन कुइँकेलले जानकारी दिनुभयो । नमुना अभ्यासका क्रममा हावाहुरी, आगलागी, बाढी तथा पहिरो जस्ता विपद्बाट बच्ने उपाय, उद्धार तथा प्राथमिक उपचारसम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो । साथै, विपद् प्रतिकार्यमा प्रयोग हुने विभिन्न सामग्री तथा उपकरणहरुको प्रयोगबारे समेत सहभागीहरुलाई जानकारी गराइएको थियो ।
प्रवक्ता कुइँकेलका अनुसार मर्स्याङदी गाउँपालिका बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्ने तथा विपद्का बेला आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा चण्डी प्रसाद गणका क्याप्टेन अजय परियारले विपद् व्यवस्थापन, उद्धार तथा सुरक्षासम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा मर्स्याङदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडा नम्बर ७ का वडा अध्यक्ष तिलप्रसाद गुरुङ, वडा नम्बर ८ का वडा अध्यक्ष धनसिंह तामाङ लगायत स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।











प्रतिक्रिया