बानिकाले ल्याइन् पदम्बिनीन



गायिका बानिका प्रधानद्वारा स्वरबद्व गीति अडियो एल्बम पदम्बिनी सार्वजनिक गरिएको छ। प्राडा पदम खनालको सम्झनामा समर्पित पदम्बिनी गीतकार विनिता खनालद्वारा रचित तथा संगीतकार किरण कँडेलद्वारा संगीतबद्ध र गायिका प्रधानद्वारा स्वरबद्ध सातौं गीति एल्बम हो।

कार्यक्रममा ख्यातिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गीतकार रत्नशमशेर थापा, संगीतकार राजु सिंह र किरण कँडेललगायतले एल्बम सार्वजनिक गरेका थिए। गीतकार खनालले आफ्नो स्वर्गीय पति पदम खनालको वियोगमा रचना गरेको एल्बममा तिमी बिना, गाइदिन्छु गीत, हिउँद लाग्यो र साह्रै पर्यो सुर्ता मलाई गरी ४ गीत संग्रहित छ।

कार्यक्रममा गाइदिन्छु गीत बोलको गीतका म्युजिक भिडियो सर्वजनिक गरिएको थियो। भिडियोमा पुष्प खड्का र रेश्मा घिमिरेको अभिनय रहेको छ भने अभिनेता मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठले निर्देशन गरेकी छिन्। कार्यक्रममा संगीतकार राजु सिंहले एल्बममा बानिकाले शब्दलाई न्याय गरेर गाएको चर्चा गर्दै स्रोताले रक्सी बेच्ने र दूध बेच्नेबीच द्वन्द्व रहेको बुझ्नुपर्ने बताए।

हरिवंश आचार्यले गीतमा व्यक्त जीवनसाथी गुमेको पीडा आफूले भोगिसकेको जनाउँदै दिनहुँ ५०/६० गीत बन्ने ठाउँमा उछिट्टिएर अगाडि आउनुभनेको भाग्यको कुरा भएको चर्चा गरे।

अभिनेता मदनकृष्ण श्रेष्ठले छोरीले निर्देशन गरेको गीत निकै राम्रो बनेको चर्चा गर्दै आफ्नो अस्तित्व बचाउन सबै गीतमा गीतकार, संगीतकार, एरेन्जर, निर्देशक र गायकगायिकाले आफ्नो फोटो राख्न जरुरी भएको बताए। गायिका प्रधानले निकै नै मार्मिक गीतहरू गाउँदा आफू निकै भावुक भएको बताइन्।

प्रतिक्रिया दिनुहोस्